हेटौँडा, १६ असोज २०८३ । मकवानपुर प्रहरीले आवश्यक कागजपत्रबिना अवैध तथा निर्दयी तरिकाले पशु चौपाया ओसारपसार गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरी टोलीले असोज ७ गते राति करिब ११:३० बजे हेटौँडा उपमहानगरपालिका–१८, ठुलोदमारस्थित सडकखण्डमा दुई गाडी रोकी जाँच गर्दा पशु चौपाया ओसारपसारसम्बन्धी आवश्यक कागजपत्र नभेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बा.प्र.०३–००१च ०९३२ र बा.प्र.०१–०२६च ५६०६ नम्बरका गाडीमा पशु चौपाया ओसारपसार भइरहेको अवस्थामा रौतहटको वृन्दावन नगरपालिका–६ का २८ वर्षीय रामलाल पासवन, हेटौँडा–१३ का २१ वर्षीय सदाम देवान, महोत्तरीको गौशाला नगरपालिका–११ का ४३ वर्षीय रोहितकुमार मिश्रलाई नियन्त्रणमा लिइएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा हेटौँडा उपमहानगरपालिका–१३ का ४० वर्षीय समसुल देवान र हेटौँडा –१२ का २३ वर्षीय भीम सुनारलाई असोज १५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूमाथि पशुपन्छीसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।






