Online Bichar
शुक्रबार, आश्विन १६, २०८३ | Friday, October 2, 2026

काठमाडौं, १४ असोज २०८३ । मुटुरोग अब वृद्धावस्थाको मात्र समस्या रहेन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको तथ्यांकअनुसार नेपालमा मुटुरोगका कारण प्रतिवर्ष करिब ३० हजार मानिसको मृत्यु हुने गरेको छ । तीमध्ये एकतिहाइ मृतक १३ देखि ४५ वर्ष उमेर समूहका छन् ।

बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, धूमपान, मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोलका कारण युवावस्थामै मुटु बिग्रने र हृदयाघात हुने घटना बढ्दै गएको मुटुरोग विशेषज्ञहरू बताउँछन् ।

नेपालमा मुटुरोगको जोखिम बढ्नुको मुख्य संकेत उच्च रक्तचापको भयावह अवस्था पनि हो । ‘नेपाल स्टेप सर्भे २०१९’ अनुसार २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप देखिएको थियो । अर्थात्, प्रत्येक चार वयस्कमध्ये करिब एकजनामा उच्च रक्तचापको समस्या छ ।

मन्त्रालयका अनुसार, उच्च रक्तचापसँगै अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, अत्यधिक तौल, सुर्तीजन्य पदार्थ तथा मदिराको सेवन, मानसिक तनाव र वायु प्रदूषणले मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम तीव्र रूपमा बढाइरहेका छन् ।

मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीका अनुसार, नेपालमा मुटुरोग बढ्नुमा बदलिँदो जीवनशैलीसँगै उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, धूमपान, मदिरा सेवन र अस्वस्थ खानपान नै प्रमुख कारण हुन् । “पछिल्लो समय स्वास्थ्य संस्थाको पहुँच विस्तार भएसँगै लक्षण नदेखिएका मुटुरोगीसमेत परीक्षणमार्फत पहिचान हुन थालेकाले बिरामीको संख्या बढेको देखिएको हो,” डा. अधिकारी भन्छन्, “तर मुटुरोगको जोखिम पहिलाभन्दा कम उमेरमै देखिन थालेको छ । विशेषगरी युवाहरूमा चिल्लो तथा बोसोयुक्त खाना, शारीरिक निष्क्रियता र सुर्तीजन्य पदार्थको सेवनले जोखिम बढाएको छ ।”

उनका अनुसार, पछिल्लो समय युवावस्थामै हृदयाघातका घटना देखिनुमा वंशाणुगत कारणसँगै अस्वस्थ खानपान, चिल्लो तथा बोसोयुक्त खाना र विशेषगरी चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन प्रमुख जिम्मेवार छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि मुटु तथा रक्तनलीसम्बन्धी रोगका प्रमुख जोखिममा सुर्तीजन्य पदार्थ, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, मोटोपन, मदिराको हानिकारक प्रयोग र वायु प्रदूषणलाई राखेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारीका अनुसार, नेपालमा हुने कुल मृत्युमध्ये दुईतिहाइभन्दा बढी हिस्सा नसर्ने रोगले ओगटेको छ । नसर्ने रोगमध्ये पनि मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट मृत्यु हुनेको संख्या ठूलो छ । “मुटुरोग उमेर बढ्दै जाँदा बढी देखिए पनि अस्वस्थ खानपान, जीवनशैली, तनाव, काम गर्ने वातावरण तथा वंशाणुगत कारणले जुनसुकै उमेर समूहलाई प्रभावित पार्न सक्छ,” उनले भने ।

‘नेपाल बर्डेन अफ डिजिज २०१९’ अनुसार नेपालमा भएका कुल मृत्युमध्ये ७१.१ प्रतिशत नसर्ने रोगका कारण भएको थियो । डब्लूएचओको नेपालसम्बन्धी तथ्यांकले पनि नसर्ने रोगलाई नै मृत्युको प्रमुख कारण देखाउँछ । मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम एउटै कारणले मात्र नबढ्ने भन्दै डा.अधिकारीले मधुमेह, उच्च रक्तचाप, खानपान, जीवनशैली र अन्य जोखिमका कारकहरू एकअर्कासँग जोडिएको बताउ ।

हृदयाघात र मस्तिष्कघातका संकेतलाई बेवास्ता नगरौँ
मन्त्रालयले हृदयाघातका सम्भावित लक्षणलाई कहिल्यै बेवास्ता नगर्न आग्रह गरेको छ । छाती दुख्ने वा दबाब महसुस हुने, दुखाइ हात वा ढाडतर्फ फैलिने, सास फेर्न गाह्रो हुने, रिंगटा लाग्ने तथा असामान्य थकान हुनेजस्ता लक्षण हृदयाघातका संकेत हुन सक्छन् ।

यस्ता लक्षण देखिएमा घरमै बसेर समय खेर नफाली वा सामान्य समस्या ठानेर बेवास्ता नगरी तत्काल स्वास्थ्य संस्थामा पुग्न मन्त्रालयको सुझाव छ । त्यस्तै अनुहार बांगिनु, हात कमजोर हुनु वा बोली अस्पष्ट हुनु मस्तिष्कघातका प्रमुख संकेत हुन् ।

लक्षण नदेखिइकन पनि हुन सक्छ मुटुरोग
मुटुरोगमा मुटु ढुकढुक हुने र सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिने भए पनि कतिपय अवस्थामा यो रोग लामो समयसम्म लक्षणविहीन रहन सक्ने डा। चन्द्रमणि अधिकारी बताउँछन् । त्यसैले लक्षण देखिएपछि मात्र स्वास्थ्य परीक्षण गराउनुभन्दा समय–समयमा रक्तचाप, रगतमा चिनी र कोलेस्ट्रोल जाँच गराउनुपर्छ ।

मुटुरोगबाट बच्न धूमपान तथा मदिरा त्याग्ने, नुन, चिल्लो, बोसोयुक्त तथा तारेका खानेकुरा कम गर्ने, प्रशोधित खाद्यपदार्थ नखाने, फलफूल तथा हरियो तरकारीको सेवन बढाउने र नियमित शारीरिक व्यायाम गर्नुपर्ने उनको सुझाव छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, सन् २०२२ मा विश्वभर करिब एक करोड ९८ लाख मानिसको मृत्यु मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारण भएको थियो । यो विश्वभरको कुल मृत्युको करिब ३२ प्रतिशत हो । त्यसमध्ये ८५ प्रतिशत मृत्यु हृदयाघात र मस्तिष्कघातका कारण भएको थियो ।

डब्लूएचओका अनुसार, मुटुरोगको ठूलो हिस्सा व्यवहारगत र वातावरणीय जोखिमका कारकहरूलाई नियन्त्रण गरेर रोकथाम गर्न सकिन्छ ।बाह्रखरीबाट

तपाईको प्रतिक्रिया