Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, ३० फागुन । निर्मला हत्या प्रकरणमा पक्राउ परेका छ जना प्रहरीलाई जिल्ला अदालत कञ्‍चनपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

निर्मला हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा २२ फागुनमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।

मुद्दाको सुनुवाई गर्दै बिहीबार छ जनालाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत कञ्‍चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। अवस्थीका अनुसार तत्कालिन प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई अभियुक्तलाई यातना दिएको कसुरमा पाँच-पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

त्यसैगरी सार्वजनिक न्याय अनर्तगत प्रहरी निरीक्षक जगदिश भट्टलाई चार लाख, सईद्‍वय हरिसिंह धामीलाई तीन लाख ५० हजार र रामसिंह धामीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ भने प्रहरी जवान चाँदनी साउँदलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ।

सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो।

सरकारले निर्मला प्रकरणमा तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ मा घरभन्दा डेढ किलोमटिर दूरीमा रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको, प्रमाण नष्ट गरेको लगायतका विषय सरकारले नै गठन गरेको समितिले प्रतिवेदनमा औंल्याइएको थियो । निर्मलाको बलात्कार तथा हत्यामा संलग्नको खोजी कार्य जारी छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया