Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौँ, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा देशका विभन्न स्थानमा बम आतंकसँगै आगजनीका घट्ना भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) उत्तम सुवेदीका अनुसार कैलालीमा एउटा बसमा आगजनी र एउटा ट्रक तोडफोड भएको छ भने नवलपरासी र मकवानपुरमा ट्रक तोडफोड भएको छ । त्यस्तै रौतहट, नवलपरासी, पोखरामा शंकास्पद बस्तु भेटिएपनि कुनै मानविय क्षती भएको छैन । प्रहरीले वुटवल, दाङ, सिन्धुपाल्चोक र बाँकेको नेपालगञ्जमा भेटिएका शंकास्पद बस्तु निश्कृय बनाएको जनाएको छ ।

जन्ती बोकेको बसमा आगजनी
कैलालीमा विवाहका जन्ती बोकेको बसमा समेत आगजनी भएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । त्यस्तै कैलालीबाट सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले गोदावरी नजिकबाट तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

कैलालीको घोडाघोडी नगरपालिकास्थि साडेपानीमा ट्रक, गौरीगंगा नगरपालिका बडैपुरर राजिनपुरबीच एउटा बसमा आगजनी गरिएको छ । त्यसैगरी धनगढी उपमहानगरपालिकाको राजपुरमा ट्रकमा आगजनी भएको छ भने लम्कीमा एक ट्याक्टरका लगाएको आगो प्रहरीले निभाएको जनाएको छ ।

त्यस्तै नवलपरासीको बासाबसहीमा गएराति २ वटा ट्रकाममा आगजनी भएको छ । बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका खाली ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

उता, मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति नै एक ट्रकमाथि आगजनी गरिएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडीमा पनि आगजनी भएको छ । आगजनीका कारण ट्रक पूरै जलेको छ । प्रहरीका अनुसार गएराति १२ बजे आगजनी भएको हो ।

त्यसैगरी देशका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तुहरु पनि भेटिएका छन् । जसले गर्दा सर्वसाधारण त्रसित बनेका छन् । प्रहरीका अनुसार बुटवल, प्युठान, वाजुरा, कपिलबस्तु, गोरखा, रुकुमा लगायतका जिल्लामा बम तथा शंकास्पद बस्तु भेटिएका छन् ।

बुटवलमा हाते बम
बिहिबार विहान बुटवल–भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको कालिकानगरमा डिभाईडरमाथि कालो रंगको शंकास्पद बस्तु फेला परेको हो ।

उक्त बस्तुलाई प्रहरीले बम भएको र प्रहरीले निस्क्रिय गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिलबहादुर मल्लले जानकारी दिएका । मल्लले आतंक फैलाउन हाते बम राखेको बताए ।

प्युठानमा नगरपालिका अगाडि बम बिहिबार नै प्युठानको स्वर्गद्वारी नगरपालिकाको कार्यालय अगाडि खतरा लेखेर कागज र प्लास्टिकले बेरेको अवस्थामा बम भेटिएको छ । उक्त बस्तु सर्वसाधरणले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

गोरखा बजारमा बम
गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा शक्तिशाली प्रेरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सामान्य भएको भन्दै प्रहरीले बम जंगलमा फालिदिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भोलाबहादुर रावलले दिएको जानकारी दिए ।

बाजुराका दुई स्थानमा शंकास्पद बस्तु
उता बाजुरा जिल्लाका दुई स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । साफे मार्तडी सडकखण्ड अन्तरगत बुढीगंगा नगरपालिका १० मा पर्ने डाब बजार र बल्देमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला अदालत अगाडि शंकास्पद बस्तु
यसैगरी रुकुम पूर्वको जिल्ला अदालत अगाडि शंकास्पद वस्तु फेला परेको छ । अदालतको २०० मिटर अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

काठमाडौँको घट्टेकुलोमा शंकास्पद बस्तु
काठमाडौँको घट्टेकुलो नजिकै कालो झोलामा शंकास्पद बस्तु फेला परेको छ । घटनाको जानकारीलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर हटाएको छ । बुधबार साँझ घट्टेकुलो नजिकै शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी बृत्त सिंहदरबारका डीएसपी काजीकुमार आचार्यले जानकारी दिए ।

उच्च सुरक्षा सतर्कता
यता, सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर उच्च सुरक्षा सतर्कता बढाएको जनाएको कछ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न समेत सुरक्षा निकायलाई निर्देशन दिएको बताइएको छ । गृहमन्त्रालले आन्तरिक सर्कुलर तथा सुचना जारी गर्दै ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ निर्देशन दिएको छ ।

सुचनामा सुरक्षाकर्मीलाई आफ्नो ज्यान, हतियार, कार्यालय, युनिटको सुरक्षा रणनीतिसहित सतर्क रहन पनि भनिएको छ । बताइएअनुसार चन्द समूहका नेता–कार्यकर्तालाई पछ्याउने, तर्साउने र मनोवैज्ञानिक दबाबमार्फत वार्तामा ल्याउने सरकारको रणनीति रहेकाले त्यसअनुसारका गतिविधि गर्ने सुरक्षा निकायको आन्तरिक सर्कुलर छ ।

प्रहरी प्रवक्ता भन्छन् सुरक्षा समस्या छैन
प्रहरी प्रवक्ता सुवेदीका अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार संवेदनशील स्थानमा निगरानी भईरहेको तथा ड्युटी परिचालन गरिएको छ । राजमार्गहरुमा चलेका बसहरुलाई स्कर्टीङ गरेर गन्तव्यसम्म पुर्याइएको छ । यद्यपी सवारी साधानहरु कम चलेका छन् । ‘तराईका शहरहरु सवै राम्रोसँग खुलेका छन् । विशेषगरी पुर्व पश्चिम राजमार्ग र त्यस आसपास प्रभावित छ । अन्यत्र सामान्य छ । सुरक्षाको हिसावले समस्या छैन् । आवश्यक प्रहरी परिचालन गरिएको छ’ प्रवक्ता सुवेदीको दावी छ ।

रातोपाटी

तपाईको प्रतिक्रिया