काठमाडौं, ६ असोज २०८३ । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण गरेको छ । मंगलबार चीनमा आयोजित एक कार्यक्रममार्फत चीन मौसम विज्ञान प्रशासन (सीएमए) ले नेपालको जल तथा मौसम विभागलाई उक्त प्रविधि हस्तान्तरण गरेको हो ।
उक्त प्रणालीको नाम माजु(नेपाल राखिएको छ । माजु-नेपालले चीनको मौसमी भूउपग्रह फेङयुनमार्फत् डेटा उपलब्ध गराउँछ । मौसमसम्बन्धी रियल टाइम डेटा उपलब्ध गराउनका लागि त्यसमा उच्चस्तरको चिनियाँ एआई मोडलसमेत जडान गरिएको सीएमएले बताएको छ ।
विश्व मौसम विज्ञान केन्द्र बेइजिङका वरिष्ठ इन्जिनियर हुवा वेनलीले यो प्रणाली क्लाउडमा आधारित पूर्वचेतावनी प्रणाली मात्रै नरहेको बताएका छन् । ”यो केबल क्लाउडमा आधारित मौसमी सूचना प्रणाली होइन । नेपाललाई उचित समयमै निर्णय लिन सघाउ पुर्याउने उच्च गुणस्तरको सूचना प्रणाली हो,”उनले भनेका छन् ।
यस्तै,सीएमका प्रशासक छेन झेलिनले नेपाललाई मौसमी सूचना उपलब्ध गराउने यस प्रणालीको प्राविधिक तालिम प्रदान गरिने बताए । विपद्बारे पूर्वचेतावनी तथा जनधन सुरक्षा यस प्रणालीको मुख्य उद्देश्य रहेको सीएमएले जनाएको छ ।
भदौ १० मा आएको भोटेकोशी बाढीले जनधनको ठूलो क्षति पुर्याएपछि चीनले नेपाललाई मौसमी सूचनाका लागि अत्याधुनिक प्रणाली हस्तान्तरण गरेको हो ।






