Online Bichar
मंगलबार, आश्विन ०६, २०८३ | Tuesday, September 22, 2026

काठमाडौं, ६ असोज २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार अमेरिकाको न्युयोर्क जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष (भीभीआईपी) को प्रयोग नगर्ने भएका छन् ।

उनी संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क जान लागेका हुन् । त्यहाँ जाँदा विमानस्थलमा नेपाली सेनाले दिने ‘सम्मान गारद’ पनि नलिने भएका छन् ।

“भोटेकोसी बाढीका कारण देश अहिले शोकमा छ । यसैकारण प्रधानमन्त्रीज्यूले न्युयोर्क जाँदा भीभीआईपी कक्षको प्रयोग नगर्ने र सम्मान गारद पनि नलिने निर्णय गर्नुभएको छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो ।

राष्ट्रपति तथा प्रधानमन्त्रीले विदेश भ्रमणमा जाँदा तथा फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भीभीआईपी कक्षको प्रयोग गर्ने अभ्यास छ । भीभीआईपी कक्षमा नेपाली सेनाको एक टुकडीले उनीहरूको सम्मानमा ‘सम्मान गारद’ दिने अभ्यास रहिआएको छ ।

तर, यसपटक प्रधानमन्त्री बालेन मंगलबार न्युयोर्क जाँदा यो अभ्यास तोड्ने भएका छन् । उनी भीभीआईपी कक्षबाट नगई सिधै टर्मिनलबाट विमानमा चढ्ने स्रोतले जनाएको छ ।

प्रधानमन्त्री बालेन कतार एयरलाइन्सको विमानमार्फत दोहा हुँदै न्युयोर्क जाँदै छन् । राष्ट्रसंघको महासभामा सहभागी भई उनी असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री बालेनले असोज ८ गते महासभालाई सम्बोधन गर्नेछन् ।

तपाईको प्रतिक्रिया