काठमाडौं, २९ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) माथि सरकारले लगाएको प्रतिवन्ध गलत भएको बताएको छ ।

राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले संसदमा बोल्दै विप्लव समूह पनि एउटा राजनीतिक शक्ति भएको भन्दै सोको समाधान पनि राजनीतिक रुपमा गर्नुपर्ने बताए ।

सरकारले पूर्वाग्रही ढंगबाट अगाडि बढिरहेको आरोप लगाउँदै उनले राजनीतिक समस्यालाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए ।

आफ्ना पार्टीका नेता रेशम चौधरी मुद्दा पनि राजनीतिक भएको तर राज्यले जर्वजस्ती कानुनी मुद्दा बनाएर फसाएको बताउँदै उनले विप्लवको समस्या पनि राजनीतिक समस्या भएकाले वार्ता र संवादमार्फत निकास खोजिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिलेको सरकारलाई शक्तिको उन्माद छ । आफूले भने नमान्ने र समर्थन नगर्नेलाई जवर्जस्ती गरिरहेको छ ।’

उनले थपे, ‘सरकारले जनतासँग गरेको प्रतिवद्धता अनुसार काम गर्न सकिरहेको छैन, त्यसका कारणको आलोचना शुरु भएको छ । त्यही आलोचनालाई ढाकछोप गर्नका लागि सरकारले अहिले विभिन्न हर्कतहरु गरिरहेको छ ।’

पार्टीमाथि प्रतिवद्व लगाएर सरकार दमनमा गए भयानक अवस्था निम्तिने भन्दै यादवले शक्तिको उन्मादमा सरकारले देशलाई द्वन्द्वमा फसाउने प्रपञ्च गरिरहेको आरोप लगाए ।

सरकारले छलफल र वार्ताको वातावरण बनाउन छाडेर शक्ति दुरुपयोग गरिरहेको उनको आरोप छ ।

रातोपाटी

तपाईको प्रतिक्रिया

Comments