दमक, ५ असोज २०८३ । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको संक्रमणसँगै मृत्युको संख्या बढेपछि जिल्लाव्यापी विशेष खोप अभियान सोमबारदेखि सुरु भएको छ । खोप अभियान मेचीनगर नगरपालिकाबाट शुभारम्भ भएको हो ।
कोशी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अभियानको औपचारिक सुरुआत भएको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ । सो अवसरमा राज्यमन्त्री गौतमले पनि खोप लगाउनुभएको थियो ।
अभियानमा जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालयले यसपटक ३० वर्षमाथिका नागरिकलाई लक्षित गरेर खोप अभियान चलाएको छ ।
अभियानका लागि पाँच लाख ७० हजार डोज खोप जिल्लामा आइपुगेको छ । १३१ वडामा ९ सय खोप केन्द्र स्थापना गरिएको छ भने करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन भएका छन् । यो अभियान सामान्य नियमित खोप कार्यक्रमभन्दा फरक रहेको जनाइएको छ ।
जिल्लामा जेई संक्रमण बढेपछि छोटो अवधिमा धेरै नागरिकलाई समेट्ने गरी अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले झापाका प्रमुख वृजकुमार दासले बताउनुभयो । दासका अनुसार हालसम्म झापामा १३ जनामा जेई संक्रमण पुष्टि भएको छ र सात जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये कसैले पनि यसअघि जेईविरूद्वको खोप नलगाएको पाइएको छ । उहाँका अनुसार असोज १५ गतेसम्ममा चार लाख ८५ हजारभन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
दुई वर्षअघि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको झापामा नियमित खोपबाट छुटेका वा बाहिरबाट जिल्लामा आएका मानिसमा संक्रमणको जोखिम रहन सक्ने स्वास्थ्य कार्यालयको भनाइ छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार जेई जापानिज इन्सेफलाइटिस भाइरस क्युलेक्स जातका संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण हुन सक्छ ।
यसको प्राकृतिक संक्रमण चक्रमा सुँगुर र पानीमा बस्ने चराचुरुङ्गी महत्वपूर्ण हुन्छन् । मानिसबाट मानिसमा सामान्यतयाः प्रत्यक्ष संक्रमण नसर्ने जनाइएको छ । गोरखापत्र अनलाइनबाट






