Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौँ, २९ फाल्गुन । दैलेखको साविक द्वारी गाउँविकास समितिका सहलेखापाल छविराम शर्माले मृतकका नाममा सामाजिक सुरक्षाभत्ता आफ्नै औँठाछाप प्रयोग गरी हिनामिना गरेको अभियोग लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजाे विशेष अदालतमा दर्ता गरेको एक मुद्दामा त्यस्तो कुराको खुलासा भएको हो ।

नागरिकको सेवाका लागि भनेर शपथ खाएका सरकारी कर्मचारीले मृतकको नाममा आफ्नै औँठाछापको प्रयोग गरी राज्य कोषको रकम दुरुपयोग गरेको फेला परेको छ ।

आयोगले दैलेखका तत्कालीन गाविस सचिव टीकाराम रेग्मीले आर्थिक वर्ष २०६९/०७० को दोस्रो र तेस्रो किस्ता तथा आव २०७०÷७१ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ताका लागि उपलब्ध भएको रु तीन लाख ४४ हजार ५०० बराबरको रकम आफ्नै हस्ताक्षर गरी दुरुपयोग गरेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

यस्तै सचिव रेग्मी र सहलेखापाल शर्माले कृषि, वन तथा वातावरण शीर्षकमा प्राप्त भएको रु एक लाख ५२ हजार ५७० समेत कामै नगरी हिनामिना गरेको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले आजै महेन्द्र मन्दिर माध्यामिक विद्यालय परेवाडाँडा लमजुङमा कार्यरत शिक्षक लोकनाथ तिवारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला समन्वय समिति कैलालीमा कार्यरत नायब सुब्बा जगदीशबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्रसमेत नक्कली रहेको अभियोग लागेको छ ।
रासस

तपाईको प्रतिक्रिया