काठमाडौं, ५ असोज २०८३ । रसुवास्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ३९ जना मृत फेला परेका छन् । गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि आयोजनामा कार्यरत ४३९ जना अझै सम्पर्कविहीन छन् ।
आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका अनुसार बाढी आउँदा आयोजनास्थलमा नेपाली तथा विदेशी गरी करिब १ हजार ४३३ जना जनशक्ति कार्यरत थिए । तीमध्ये हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको छ भने ७८ जना सम्पर्कमा आएका छन् । ३९ जनाको मृत्यु पुष्टि भएको र ४३९ जना अझै सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ ।
सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि बाढी आएको समयदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोरियाली विज्ञ तथा आयोजनाको टोली परिचालन भइरहेको कम्पनीले जनाएको छ । भूमिगत संरचनाभित्र फसेको हुनसक्ने व्यक्तिको खोजीसँगै आयोजनास्थल आसपासका बाहिरी सतह, भीर, गाउँ तथा अन्य सम्भावित क्षेत्रमा समेत खोजी भइरहेको छ ।
खोजीलाई प्रभावकारी बनाउन तालिमप्राप्त खोजी कुकुरसहितको टोली, पर्वतारोहण उद्धार टोली तथा अन्य दक्ष जनशक्ति परिचालन गरिएको छ । बाढीले आयोजनास्थलसम्म पुग्ने सडकमा क्षति पुर्याएपछि हेलिकप्टरमार्फत आवश्यक उपकरण आयोजनास्थलमा पुर्याएर खोजी तथा उद्धारमा प्रयोग भइरहेको छ ।
मुख्य सुरुङतर्फ बाढीले ठूलो क्षति पुर्याएको छ । आयोजनाको पहुँच सुरुङको माथिल्लो तटीय क्षेत्रमा थुप्रिएको लेदो तथा भग्नावशेष एक्स्काभेटरको प्रयोग गरी हटाउने काम भइरहेको कम्पनीले जनाएको छ । उद्धारका लागि आवश्यक एक्स्काभेटर तथा अन्य उपकरणसमेत हेलिकप्टरबाट आयोजनास्थलमा पुर्याइएको छ ।
आयोजनास्थलबाट निकालिएका शव नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुरस्थित नेपाली सेनाको क्याम्पमा ल्याउने व्यवस्था गरिएको छ । मृतकका परिवार तथा आफन्तसँग समन्वय गरी शव पहिचान र अन्तिम संस्कारका लागि आवश्यक सहजीकरण भइरहेको कम्पनीले जनाएको छ ।
सम्पर्कविहीन व्यक्तिको खोजीका लागि परिवारबाट प्राप्त सूचना, उद्धार गरिएका कर्मचारीबाट प्राप्त विवरण तथा अन्य विश्वसनीय स्रोतका आधारमा सम्भावित खोजी क्षेत्र पहिचान गरी उद्धार टोलीलाई आवश्यक सूचना उपलब्ध गराउने गरिएको कम्पनीले जनाएको छ ।
खोजी तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन सरकारद्वारा गठित वार रुम, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा विद्युत् विकाससम्बन्धी निकायसँग कम्पनीले नियमित समन्वय गरिरहेको छ ।
कम्पनीले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत, साधन, प्रविधि र जनशक्तिको अधिकतम परिचालन गरिरहेको जनाएको छ ।






