Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

धरान, २९ फागुन । धरान मा मृत भेटिएका रितेशको रहस्मय तरिकाले मिर्त्यु भएको भेटिएको छ । घाँटी रेटिएको अवस्थामा हिजो मृत भेटिएका सप्तरी राजविराज–१३ घर भई करिब १७ वर्षदेखि धरान–९ आचार्यलाइनमा साइकल मर्मत केन्द्र खोलेका उनले पछिल्लो ६ वर्षदेखि भोलेबाबाको भक्त बनेका थिए । दैनिक बिहान नुहाउने र डम्मरु बजाउँदै अधिकांश समय पूजापाठमा लीन हुने गरेको आफन्त बताउँछन् । यतिसम्म कि उनले साइकल मर्मतमा समेत ध्यान दिन छाडेका थिए । रातदिन नभनी उनी डम्मरु बजाएर पूजापाठमा मग्न हुने गरेको उनीसँगै केही समयमा काम गरेका आफन्त बब्लु देव बताउँछन् ।

‘६ वर्षयतादेखि त दैनिक पूजापाठ मात्रै गर्नुहुन्थ्यो’ उनी भन्छन्, ‘साइकल बनाउनै छाड्नुभएको थियो ।’ केही समय रितेशकै साइकल पसलमा मर्मतको काम गरेका बब्लु अहिले भने आफ्नै मर्मत केन्द्र खोलेर बसेका छन् । मृतक रितेश अविवाहित थिए । उनी साताभरी नै पूजापाठमा मग्न हुने गरेको मृतककी दिदी निलु देवले बताइन् । उनी भन्छिन्, ‘सोम होस् कि मङ्गल, खाली पूजापाठमा मात्रै व्यस्त हुन्थ्यो ।’

पूजापाठमा उनी के गर्थे भन्नेबारे भने आफन्तहरू पनि अनभिज्ञ थिए । पछिल्लो ७–८ वर्षदेखि पूजापाठ गर्दै आएका थिए । तर, सम्पूर्ण रूपमा दिलोज्यान दिएर लागेको भने ६ वर्ष पुग्न लागेको आफन्त बताउँछन् । उनको सुत्ने कोठामै पूजास्थल राखेका थिए । मृतक रितेशले भान्सामा प्रयोग गरिने चुलेसी (सब्जी काट्न प्रयोग गरिने एक खाल्को घरेलु हतियार) समातेकै अवस्थामा शव फेला परेको थियो ।

तर, उनको घाँटीको गर्दनमा चार इञ्च जति रेटिएको र घाँटीको दाहिने भागमा पनि रेटिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर अशोककुमार जवेगूले शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । घटनाका विस्तृत अनुसन्धानका लागि मृतक रितेशका दाजु दीपेन्द्रप्रसाद र पुष्कर देवसहित दुई जना भेनाजुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर जवेगूले जानकारी दिए ।

‘घटनाको प्रकृतिले हत्या वा आत्महत्या के हो भन्न सकिने अवस्था छैन । सोधपुछका लागि दुई जना दाजु र दुई जना भेनालाई नियन्त्रणमा लिएका छौं’ –उनले फोनमा भने । तर, सोधपुछपछि उनीहरूलाई छाडिएको छ भने उनीहरूले प्रयोग गर्ने मोबाइल चाहिँ प्रहरीले अनुसन्धानका लागि राखेको छ । विगतमा निकै फरासिला रितेश पछिल्लो ६–७ वर्षयता भने पूजापाठमा लागेपछि निकै कम बोल्ने गरेको नजिकबाट चिन्नेहरू बताउँछन् । ‘पहिला त निकै फरासिला थिए । हाँसेरमात्रै बोल्थे ।

पूजापाठमा लागेपछि साइकोजस्तै भएका थिए’ एक जानकारले भने, ‘जतिखेर पनि डम्मरु बजाएको मात्रै सुनिन्थ्यो ।’ तन्त्रमन्त्रमा लागेका हुनसक्ने अनुमान ती जानकारले गरे । मृत अवस्थामा भेटिँदा पनि उनले गेरु वस्त्र नै धारण गरेका थिए । टाउकोदेखि कम्मरको भागसम्म गेरु वस्त्रले छोपिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । पश्चिमतर्फ टाउको र पूर्वतर्फ खुट्टा रहेका उनले चुलेसी हातमै समातेको अवस्थामा भेटिएको प्रहरी बताउँछ ।

घटनाको अघिल्लो दिनमात्रै केही आफन्तहरूले धरान छाडेको पाइएको छ । यता मृतक रितेशका पिता तुलाकृष्णलाल देव पनि सप्तरीको राजविराजस्थित जिल्ला अस्पतालमा सिकिस्त रहेको आफन्त बताउँछन् । रितेशको मृत्यु भएको खबर प्राप्त गरेपछि उनकी आमा राधादेवी देव बेहोस बनेकी छन् । एक आफन्तका अनुसार मृतक रितेशले बुबाभन्दा आफू नै अगाडि मर्ने बताउँदै आइरहेका थिए । तर, त्यो किन भनिरहेका थिए भन्ने विषयमा आफन्तहरू अनभिज्ञ छन् ।

तपाईको प्रतिक्रिया