झापा, ३० भदौ २०८३ । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भनी झुठो परिचय दिएर सरकारी तथा राजनैतिक पदको दुरुपयोग गरेका सुजन विश्वकर्माले झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालाई समेत बद्नाम गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाद्वारा नियन्त्रणमा लिइएका हल्दिबारी गाउँपालिका वडा नं. १ बस्ने ३६ वर्षीय सुजन विश्वकर्माले जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख एसपी खड्कासँग चिनजान तथा निकट सम्बन्ध रहेको देखाउने उद्देश्यले सन् २०२६/०६/२२ मा एआई निर्मित विभिन्न फोटोहरु सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले प्रयोग गर्ने ““Sujan Biswokarma“ नामक फेसबुक आइडीमार्फत एसपी खड्काले टीका र खादा लगाइदिएको फोटो पोस्ट गरेका हुन् ।
त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले उक्त फोटो सम्बन्धमा गरिएको प्रारम्भिक अनुसन्धानमा ती फोटोहरु एआई प्रविधिबाट सिर्जना गरिएको र जिल्ला प्रहरी कार्यालय झापा तथा कार्यालय प्रमुखसँग कुनै प्रकारको आधिकारीक सम्बन्ध वा सरोकार नरहेको खुल्न आएकोले उनलाई कानून बमोजिम कारबाही गरिने जनाएका छन् ।
प्रहरी निरीक्षक अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक व्यक्तित्व, सरकारी निकाय वा पदाधिकारीको नाम, पद तथा छवि दुरुपयोग गरी भ्रामक सूचना फैलाउने, झुटा प्रचारप्रसार गर्ने तथा सर्वसाधारणलाई भ्रममा पार्ने कार्य कानून विपरीत भएको भन्दै यस्ता गतिविधिमा संलग्न जो कोही उपर प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
विश्वकर्माले गृहमन्त्री सुधन गुरुङ , कानुन मन्त्री सोविता गौतम , निवर्तमान उपसभामुख तथा झापा क्षेत्र नं २ का सांसद इन्दिरा राना मगरलगायतसंगको फोटो पनि आफ्नो सामाजिक संजालमा पोस्ट गरेका छन् । ती फोटोहरुको सत्यताका बारेमा खुल्न सकेको छैन ।






