Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २९ फागुन । बोइङ ७३७ दुर्घटनाको मुख्य कारण कम्प्युटरको गलतसूचना भएको पाइलट वेद उप्रेतीले बताएका छन् । कम्प्युटरले गलत सूचना दिएका कारण बोइङ ७३७ विमान लगातार दुर्घटनामा पर्न थालेको उप्रेतीले बताए ।

“विमानमा भएको कम्प्युटरले विमान खस्दैछ भन्ने गलत इन्फरमेशन दिन्छ र खस्दै गरेको विमान दुर्घटनाबाट बचाउने नोज आफैँ तल झर्छ,” जाकार्तामा रहेका उप्रेतीले बाह्रखरीसँग टेलिफोनमा भने, “नोज तल झरेपछि पाइलटले त्यसलाई रिकभर गर्न सक्तैनन् र विमानलाई दुर्घटनाबाट बचाउन सकिँदैन ।”

विमान दुर्घटनानमा पर्दैछ भन्ने थाहा हुँदा अन्तिम समयसम्म पनि दुर्घटनाबाट बचाउने प्रयास पाइलटले गर्ने भएपनि बोइङ ७३७ मा भने पाइलटले विमानलाई दुर्घटनाबाट बचाउन नसक्ने उनी बताउँछन् ।

सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा लायन एयर र यही आइतबार इथियोपियामा भएको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनाको कारण कम्प्युटरको गलत सूचना रहेको उनले बताए । “कम्प्युटरले विमान खस्दैछ भनेर सूचना दिएका कारण नै इन्डोनेसियामा बोइङ ७३७ दुर्घटना भएको थियो । त्यही कारणले फेरि इथियोपियामा विमान दुर्घटना भएको छ,” उनले भने, “गलत इन्फरमेशन अहिले बाहिर आएको मुख्य कारण हो, ब्ल्याक बक्सको अध्ययनपछि डिटेल आउला ।”

अमेरिकन कम्पनी नभएको भए अहिलेसम्म बोइङ ७३७ सबै बन्द भइसक्ने उनले दाबी गरे । इन्डिनेसियाको लायन एयरका प्रशिक्षक पाइलटसमेत रहेका उप्रेतीका अनुसार इन्डोनेसियामा रहेका १४ वटा बोइङ ७३७ सबै त्यहाँको सरकारले ग्राउन्डेड गरिसकेको छ ।

“बोइङ ७३७बारे बहस सुरु भएको यो त सुरुआतमात्रै हो । निकट भविष्यमा यसबारे ठूलो बहस हुनेछ,” उनले भने । इन्डोनेसियामा भएको दुर्घटनामा १८९ र आइतबार इथियोपियामा १५७ जनाको मृत्यु भएको थियो ।

लागातार बोइङ ७३७ सिरिजका विमान दुर्घटना हुन थालेपछि चीन, ब्राजिल, सिंगापुर, इथियोपिया, इन्डोनेसिया लगायतले उडानमा प्रतिवन्ध लगाइसकेका छन् ।

तपाईको प्रतिक्रिया