Online Bichar
बिहिबार, भाद्र २५, २०८३ | Thursday, September 10, 2026

काठमाडौं, २५ भदौ २०८३ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका निम्ति पुगेकी एक गर्भवतीले गेटबाहिर सडकपेटीमै शिशु जन्माएको घटना सार्वजनिक भएको छ । पैसा नभएका कारण अस्पतालले उपचार गर्न नमानेपछि आफूहरू बाहिरिएको र त्यसपछि सडकपेटीमै बच्चा जन्मिएको परिवारले जनाएको छ ।

घटना बुधबार (भदौ २४) बिहानको हो । राजविराज नगरपालिका–१४ की बबिताकुमारी पासवानले अस्पतालको गेटबाहिरै छोरा जन्माएकी हुन् । उनी बुधबारै बिहान करिब २ बजे प्रसव व्यथा लागेपछि श्रीमान् हरेरामसँगै अस्पताल पुगेकी थिइन् ।

बबिताका श्रीमान् मजदुरी गर्छन् । अस्पताल पुग्दा उनीहरूका साथमा थोरै रकम थियो । उपचार खर्च पूरा तिर्न सक्ने अवस्था नरहेको जानकारी अस्पताल प्रशासनलाई गराएको परिवारको भनाइ छ ।

बबिताका अनुसार, अस्पताल पुगेपछि उनलाई भर्ना गरिएको थियो । २४ नम्बर बेडमा राखिएको थियो । अस्पतालबाट पुर्जी समेत दिइएको थियो । तर, उपचार तथा जाँचका निम्ति पैसा मागिएपछि तत्काल रकम तिर्न नसक्ने बताउँदा समस्या भएको उनले जानकारी दिइन् ।

पैसा नभई आवश्यक जाँच गराउन नसकिने स्वास्थ्यकर्मीले बताएपछि उनीहरू अस्पतालबाट बाहिरिएका थिए । त्यसपछि प्रसव पीडा बढ्दै गएको र अस्पतालकै गेटबाहिर सडकपेटीमा बच्चा जन्मिएको परिवारले जनाएको छ ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा महिला सडकपेटीमा प्रसव पीडाले छटपटाइरहेको देखिन्छ । उनका आफन्त वरिपरि देखिन्छन् । केही बेरपछि उनले त्यहीँ शिशु जन्माएको भिडियोमा देखिएको छ ।

अस्पताल प्रशासनले भने पैसा नभएका कारण बिरामीलाई त्यहाँबाट निकालिएको आरोप अस्वीकार गरेको छ । “उहाँहरू अस्पताल आउँदा कुनै पनि रिपोर्ट थिएन, भर्खरै व्यथा सुरु भएको थियो,” अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) जितेन्द्र कँडेलले भने ।

उनका अनुसार, अस्पतालले बेडबाटै रगतलगायत नमुना संकलन गरेको थियो । पिसाब परीक्षणका निम्ति भाँडो लिन कुरुवालाई पठाइएको थियो । त्यति बेला बिरामी पनि कुरुवासँगै बाहिर गएको र बच्चा जन्मिएको उनको भनाइ छ ।

“ब्लडलगायतको स्याम्पल कलेक्सन बेडबाटै गरेका थियौँ । पिसाब जाँचका लागि भाँडो लिन कुरुवालाई पठाउँदा बिरामी पनि सँगसँगै बाहिर जानुभयो । बाहिर नै बच्चा जन्मिएछ,” कँडेलले भने ।

त्यसपछि परिवारले सालनालसहितको शिशुलाई अस्पतालभित्र ल्याएको र स्वास्थ्यकर्मीले त्यो काटिदिएको उनले बताए । “जन्मिएको बच्चाको नालसहित भित्र ल्याएर हामीले काटेका हौँ । बच्चा जन्मेपछि गर्नुपर्ने जाँच गराउन खोज्दा पनि उहाँहरू नमानेर घर जानुभयो,” कँडेलले भने ।

तर, पछि आमा र शिशु दुवैलाई अस्पतालमा ल्याएर स्वास्थ्य अवस्था हेरिएको उनले बताए । “आमा र बच्चा दुवैलाई अस्पतालमा ल्याएर हेरिरहेका छौँ, दुवैको स्वास्थ्य अवस्था ठिक छ,” उनले भने ।

बबिता र हरेरामका यसअघि तीन छोरी छन् ।

विपन्न, गरिब तथा असहाय नागरिकका निम्ति सरकारी र निजी अस्पतालमा निश्चित प्रतिशत बेड छुट्ट्याउनुपर्ने कानुनी व्यवस्था छ ।

घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भिडियोका आधारमा अस्पतालको उपचार प्रणाली र स्वास्थ्य सेवामा विपन्न नागरिकको पहुँचका विषयमा प्रश्न अनेक प्रश्न उठाइएको छ । अस्पताल प्रशासनले भने बिरामीलाई उपचारबाट वञ्चित नगरिएको जिकिर गरेको छ ।बाह्रखरीबाट

 

तपाईको प्रतिक्रिया