काठमाडौं, २५ भदौ २०८३ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यबाट सांसद हरिमोहन भण्डारीले राजीनामा दिएका छन् ।
भण्डारीले प्रतिनिधिसभाको बिहीबारको बैठकबाटै राजीनामा घोषणा गरेका हुन् ।
उपभोक्ताको हित हेर्ने संसदीय समितिले कुनै सहजीकरण गर्न नसकेको भन्दै उनले राजीनामा दिएको बताए ।
“म उपभोक्ता समितिको सदस्य थिए । हामीले जिम्मेवार मन्त्री, अधिकारी निकाय सबैलाई बोलाएर छलफल गर्यौं तर आपूर्ति सहज गर्न र उपभोक्ताका समस्या सम्बोधनमा केही परिणाम दिन सकेनौँ,” भण्डारीले भने, “समितिको पनि त जिम्मेवारी हुन्छ । केही गर्न नसकेपछि त्यहाँ बस्नु मलाई उचित लागेन र राजीनामा दिएको हुँ ।”
उनले आफूलाई अन्य समितिको जिम्मेवारी आए त्यहाँ रहने बताए । खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न नसकेपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आजै राजीनामा दिएकी छन् ।






