काठमाडौँ, २४ भदौ २०८३ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा एक ४७ वर्षीया महिलाको विश्वमै दुर्लभ मानिने जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । मस्तिष्कमा रक्तस्राव भएपछि अस्पताल भर्ना भएकी ती बिरामीको स्वास्थ्य परीक्षण गर्दा मस्तिष्कका दुवै पक्षमा गरी कुल सात वटा एन्युरिजम पहिचान भएको थियो।
सामान्यतया दुवै पक्षका एन्युरिजमका लागि छुट्टाछुट्टै शल्यक्रिया गर्नुपर्ने भए तापनि वीर अस्पतालका न्युरो सर्जनहरूले बायाँ तर्फबाट एउटै शल्यक्रियात्मक पहुँच बनाएर दुवै पक्षका ६ वटा एन्युरिजममा सफलतापूर्वक क्लिप लगाएका छन्।
करिब सात घण्टा लामो उक्त जटिल शल्यक्रियाको नेतृत्व प्रा.डा. राजीव झाले गरेका थिए । टोलीमा डा.नम्रता खड्का र डा.योगेन्द्र देवकोटा सहभागी थिए । यसका साथै बिरामीलाई बेहोस बनाउने तथा शल्यक्रियामा सघाउने टोलीमा डा.अजय चौधरी, डा. तिलक देवकोटा, डा.मनोज विष्ट, डा.ल्हाक्पात्सेरिङ शेर्पा, डा.आर्यन यादव, डा.ऋतु प्रधान, डा.सन्दीप किरण प्रधान र डा.गौरव रत्न बज्राचार्य तथा नर्सिङ टोलीमा सिन्धु गौतम, अस्मी मगर र यज्जु मानन्धर थिए ।
बिरामीको मस्तिष्कमा रहेको बाँकी सातौँ एन्युरिजमको उपचार भने क्याथेटर मार्फत रगतको नलीभित्रबाटै गरिने विधिबाट गर्ने योजना बनाइएको छ। एन्युरिजम फुटेर मस्तिष्कमा रक्तस्राव हुनु अत्यन्त गम्भीर अवस्था मानिन्छ, जसका कारण बिरामीको मृत्यु हुने वा दीर्घकालीन स्नायुसम्बन्धी अशक्तता हुने जोखिम उच्च (७० प्रतिशतसम्म) रहन्छ।
वीर अस्पतालको टोलीले यसअघि पनि यस्तै प्रविधिबाट नौ जना बिरामीमा एन्युरिजम क्लिपिङ गरिसकेको छ। सफल शल्यक्रियापछि बिरामी हाल पूर्ण रूपमा होसमा रहेको र कुनै स्नायुसम्बन्धी कमजोरी नदेखिएको अस्पतालले जनाएको छ। एउटै पहुँचबाट ६ वटा एन्युरिजमको सफल क्लिपिङ हुनु नेपालको जटिल मस्तिष्क तथा रक्तनली सम्बन्धी शल्य चिकित्साका क्षेत्रमा एक ठुलो र महत्त्वपूर्ण उपलब्धि हो।






