Online Bichar
बुधबार, भाद्र २४, २०८३ | Wednesday, September 9, 2026

काठमाडौं, २४ भदौ २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका नेताऔकार्यकर्तालाई तत्काल निष्कासन गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभामा सम्बोधन लामिछानेले नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको बताएका छन्।

रास्वपाको कुनै पनि तहका सदस्य वा पदाधिकारी विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङमा संलग्न रहेको पाइए त्यस्ता व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिने उनले बताएका हुन्।

‘विपद्मा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन,’ लामिछानेले भनेका छन्।

उनले विपद्का बेला नागरिकको पीडा र आक्रोशलाई संवेदनशील रूपमा बुझ्नुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालमा गैरजिम्मेवार अभिव्यक्ति दिने पार्टी सदस्य तथा पदाधिकारीमाथि कडा कारबाही गरिने स्पष्ट पारेका छन्।

तपाईको प्रतिक्रिया