Online Bichar
आइतबार, भाद्र २१, २०८३ | Sunday, September 6, 2026

काठमाडौं, २१ भदौ २०८३ । रसुवा बाढीपछि चीनको केरुङमा रहेकामध्ये ४३१ जना नेपाली तातोपानी नाकाबाट नेपाल फर्केका छन् । सोही नाकाबाट आइतबार (भदौ २१) थप १०५ जना नेपाली स्वदेश फर्कँदै गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । “हिजोसम्म (भदौ २०) मा तातोपानी नाका भई कुल ४३१ जना नेपाली नागरिक नेपाल फर्किसकेका छन् भने आज सोही नाकाबाट १०५ जना नेपाली नागरिक नेपाल फर्कने अपेक्षा गरिएको छ,” परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बाढीबाट प्रभावित भई नेपाल फर्कन चाहने नेपाली नागरिकहरूको सुरक्षित फिर्तीलाई सहज बनाउन मन्त्रालय र चीनस्थित नेपाली नियोगहरूले चिनियाँ अधिकारीहरूसँग निकट समन्वय गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

यही भदौ १० गते रसुवाको भोटेकोसीमा आकस्मिक बाढी आउँदा रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

बाढीले रसुवागढी–केरुङ नाकामा पूर्णरुपमा क्षति पुर्‍याउँदा चीनको केरुङतर्फ रहेका नेपालीलाई तातोपानी नाका हुँदै स्वदेश फर्काइएको हो । बाढी आउँदा चीनको केरुङमा करिब एक हजार ४०० नेपाली रहेको अनुमान छ ।

तपाईको प्रतिक्रिया