काठमाडौं, २८ फागुन । दक्षिण एसियाली राष्ट्रका महिला फुटबल टाेलीबीचको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेकाे पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट विराटनगरमा सुरु हुँदै छ । याे खेल नेपालमा पहिलोपटक काठमाडौं भन्दा बाहिर विराटनगरमा हुँदै छ ।
सार्कका आठ मुलुकमध्ये याे प्रतियोगितामा भने नेपालसहित ६ देशले मात्र सहभागिता जनाएका छन् । पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल पतियोगितामा नेपालसहित माल्दिभ्स, भुटान, भारत, श्रीलंका र बंगलादेशले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा जित हात पार्ने उच्च मनोबलका साथ विराटनगर पुगेको नेपाली राष्ट्रिय महिला टोलीले उद्घाटन तथा पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएकाे छ । उद्घाटन खेल विराटनगस्थित सहिद रंगशालामा दिउँसो ३ बजे सुरू हुनेछ ।
नेपालसहित बङ्गलादेश र भुटान समूह ‘ए’ रहेका टिम हुन भने भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा रहेका टिम हुन् । नेपालले पहिलो खेलमा भुटानसँग मंगलबार र दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्नेछ । साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करणसम्म आइपुग्दा नेपाल र भुटान दुई पटक आमने–सामने भएका छन् । नेपालले दुवै खेलमा भुटानलाई ८–० ले पराजित गरेको छ ।
अन्तर्राष्ट्रियस्तरको पछिल्लो पाँच खेलमा दुईमा जीत, दुईमा हार र एक बराबरी खेलेको नेपाली टोलीकोे प्रदर्शन सन्तुलित छ । साफ महिला च्याम्पियनसिपको सबै संस्करणमा भाग लिएको भुटानले कुनै संस्करणमा पनि समूह चरण पार गर्न सकेको छैन् । भुटानले अहिलेसम्म एउटै पनि खेलमा जीत निकाल्न सकेको छैन् । चार संस्करणमा १२ खेल खेल्दा भुटानले ३ गोल गर्दा ७२ गोल खाएको छ । यो पटक पनि भुटानको टिम त्यती बलियो मानिएको छैन ।
अघिल्ला चार संस्करणमध्ये ३ संस्करणमा नेपाल फाइनलमा भारतमा पराजित भएको थियो । अघिल्लो संस्करणमा भने नेपाल भारतसँगै सेमिफाइनलमा स्तब्ध भएको थियो ।
नेपालको सम्भावित टिम सेट
फर्मेसनः ४-४-२
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा
डिफेन्सः हिरा कुमारी भुजेल, पुनम जर्घामगर, अमृता जैशी, गिता राना, मनमाया लिम्बु
मिडफिल्डः अनिता बस्नेत, दिपा राइ, रेनुका नगरकोटी, मन्जलीकुमारी योञ्जन
स्ट्राइकरः निरू थापा, सावित्रा भण्डारी