Online Bichar
सोमबार, आश्विन २६, २०८३ | Monday, October 12, 2026

काठमाडौं, १४ भदौ २०८३ । भोटेकोसी नदीमा आएको भीषण बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका शव अस्पतालमा थुप्रिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । अस्पतालमा शव राख्ने ठाउँको अभाव भइरहेका बेला चिकित्सकले विपद्को अवस्थामा पहिचानलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

व्यवस्थापन चुनौती बनिरहेका बेला सरकारले जमिनमुनि शव राख्ने निर्णय गर्‍यो । उक्त निर्णयको आलोचना समेत भएको छ । सरकारी निर्णयप्रति टीकाटिप्पणी भइरहँदा फरेन्सिकविज्ञले शवको व्यवस्थापन गर्दा मृतकको पहिचानलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

वरिष्ठ फरेन्सिकविज्ञ समेत रहेका महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका पूर्वप्रमुख प्रा। डा। हरिहर वस्तीले यस्तो बेलामा अन्तर्राष्ट्रिय मापदण्ड र निर्देशिकाअनुसार अहिले शवको व्यवस्थापनभन्दा पनि पहिचान महत्त्वपूर्ण रहेको बताए ।

‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ प्रक्रियाअनुसार शवको प्रारम्भिक तथा वैज्ञानिक विधिबाट पहिचान गरी आवश्यक दस्ताबेजीकरणपछि सुरक्षित रूपमा अस्थायी चिहानमा व्यवस्थापन गरिनुपर्नेमा उनले जोड दिए ।

गृह मन्त्रालयले पछिल्लोपटक सार्वजनिक गरेको सम्बन्धित निर्देशिकामा पनि विपद्पछि मृतकको पहिचानलाई प्रमुख कार्यका रूपमा स्पष्ट गरिएको उनले बताए ।

“यस्ता प्राकृतिक विपत्तिमा मुत्यु हुने धेरैजनाको शवको पोस्टमार्टम गर्ने वा मृत्युको कारण पत्ता लगाउनेभन्दा पनि कुन व्यक्तिको शव हो भनेर पहिचान गर्नु प्रमुख कार्य हो,” उनले बाह्रखरीसित भने, “शारीरिक आकृति, लगाएको कपडा, गरगहना, ट्याटु, शरीरमा रहेका खत वा विशेष हुलियाका आधारमा प्रारम्भिक पहिचान गरिन्छ ।”

शव सहजै पहिचान हुन नसक्ने स्थिति पनि हुनसक्छ । यस्तो अवस्थामा शव पहिचान गर्ने वैज्ञानिक आधार भनेको डीनए परीक्षण हो । तर, धेरै दिनसम्म पहिचान हुन नसकेमा डीनए संकलन गरेर शवलाई सुरक्षित तरिकाले अस्थायी रूपमा जमिनमुनि गाड्ने अर्को पद्धति रहेको उनले स्पष्ट पारे ।

जमिनमुनि शव दुईरतीन महिनासम्म सुरक्षित रहने हुनाले आत्तिनु नपर्ने पनि उनले बताए । “जमिनमुनि राखिएका शव दुईरतीन महिनासम्म सुरक्षित नै हुन्छन् । यदि, ठाउँ चिसो भएमा ६ महिनासम्म शव सुरक्षित नै हुन्छ,” प्रा. डा. वस्तीले भने ।

जमिनमुनि जनावरले खोतल्न नसक्ने, बाढीले नबगाउने र प्रत्येक शवलाई छुट्टाछुट्टै राखिनुपर्नेमा उनले जोड दिए । “हाम्रो अनुभवमा यस्ता शव एक वर्षसम्ममा पहिचान भएर परिवारलाई बुझाएको अनुभव छ,” उनले भने, “तर, अस्थायी रूपमा जमिनमुनि राखिएको शव जनावरले नखोतल्ने, बाढीले नबगाउने र प्रत्येक शवलाई छुट्टाछुट्टै राख्नुपर्छ ।”

यसरी अस्थायी रूपमा जमिनमुनि राखिएका शवको पहिचान १२ वर्षसम्म नभए अन्त्येष्टिसरह मानिने समेत उनले बताए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरेन्सिक मेडिसिन विभागका प्रमुख प्रा.डा। शिवेन्द्र झाले पनि प्राकृतिक विपद्‌मा एकैपटक धेरैको मृत्यु हुने र शव व्यवस्थापन गर्ने कोल्ड स्टोरको कमी हुँदा वैज्ञानिक तरिकाले सुरक्षित रूपमा राख्ने भनेको जमिनमुनि नै रहेको बताए ।

“शवको उचित विवरण संकलन गरेर अस्थायी रूपमा जमिनमुनि राख्न सकिन्छ, किनभने जमिनमुनिको केही भाग धेरै चिसो हुने भएकाले शव ढिलो सड्छ,” उनले भने, “यसबीचमा केही समयपछि उक्त शवको पहिचान हुन सकेमा मर्यादित रूपमा परिवारलाई बुझाउन सकिन्छ ।”

सरकारले यस्ता शवको व्यवस्थापनलाई थप व्यवस्थित र स्पष्ट पार्न ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ स्वीकृत गरी लागु गरेको छ ।

तपाईको प्रतिक्रिया