Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

नयाँ दिल्ली २८ फागुन । भारतमा १७औं लोकसभाको निर्वाचन नजिकिँदै गएको छ । भारतीय लोकसभाको सन् २०१९को निर्वाचन सात चरणमा हुनेछ । पहिलो चरण ११ अप्रिलमा हुने छ । यस सम्बन्धी मिति गएको आइतबार तय भएको हो । चुनाव आगामी अप्रिल र मे महिनामा हुँदैछ भन्ने पहिले नै तय थियो ।

तर, मिति तय भइसकेपछि भारतमा चुनावले छोपेको छ । प्रचारको शैली र ‘मूड’ बदलिएको छ । अब चुनावलाई केन्द्रमा राखेर आवश्यक तयारी हुने निश्चित छ । चुनावको बारेमा दुई तीन वटा महत्वपूर्ण कुरा छन् । भारतीयहरुको चासो प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्र कुन हो र त्यहाँ कहिले चुनाव हुँदैछ ? अहिलेसम्मको चर्चा अनुसार मोदी फेरिपनि वाराणसीबाट नै चुनाव लड्ने सम्भावना छ । वाराणसीमा मोदीको व्यस्तता र पार्टीको चुनाव प्रचारको लागि उनको सक्रियताले गर्दा यो कुरा चर्चा भएपनि तय भइसकेको छैन ।

भाजपाको मुद्दा
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह र प्रधानमन्त्री मोदीको हवाला दिँदै जुन कुरा बाहिर ल्याइरहेको छ त्यसको मूल निचोड हो— ‘एक बार फिर से मोदी सरकार’ ।

यसले गर्दा मोदीलाई पार्टीभित्रैबाट चुनौति दिने र आलोचना गर्नेहरुलाई चिसो पानी खन्याउने काम भइसकेको छ । गएको जनवरीसम्मको अवस्था हेर्दा फरक थियो । त्यतिबेला देशको ‘मूड’ अरु केहीमा भएजस्तो देखिन्थ्यो । तर, फेब्रुवरीको पुलवामा घटनापछि अवस्था बदलिएको देखिएको छ । तर, चुनावको तिथीको समय सम्ममा तस्विर अझै नबदलिएला भन्न सकिन्न ।

अझैपनि पहिलो चरणको चुनाव आउनका एक महिना बाँकी छ । भाजपासँग बालाकोट आक्रमण बाहेक अन्य मुद्दापनि छन् । अन्य मुद्दामा विकास र जनधनको कुरा छ । अहिले प्रश्न उठिरहेको छ—भाजपाका लागि अरु मुद्दा के हुन सक्लान् ? अनि कुन मुद्दा प्रयोग गरेर कंग्रेस र अन्य विपक्षी पाटीले मोदीलाई चुनौती देलान् ?

पुलवामा पछिको अवस्था
सन् २०१४को लोकसभा निर्वाचनका समयमा माहौल अलग थियो । त्यतिबेला जुन मुद्दा थिए ती विपक्षीले खडा गरेका थिए । त्यसभन्दा बढी ती विषयलाई मिडियाले उठाएका थिए । एउटा परिवर्तनको चाहना सबैमा देखिन्थ्यो । पुलवामामा आक्रमण हुनुभन्दा पहिला विपक्षीहरु सरकारलाई घेराउ गर्नमा एक हदसम्म सफल भएका थिए । तर, अब हरेक सांसदहरु आफ्नो सिटको लागि केन्द्रीत हुनुपर्ने अवस्था देखिएको छ । अहिलेको अवस्थामा जनताको ध्यान आफ्नो क्षेत्रको सांसदले के गरे भनेर हिसाबकिताब गर्नेतिर गइरहेको छ । भारतको अहिलेको चुनाव यस अर्थमा पनि रोचक किन छ भने यति धेरै चरणमा यसभन्दा अघि चुनाव भएको थिएन ।

प्रियंकाको सहभागिता
विपक्षी कंग्रेस आइले अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंकालाई राजनीतिमा ल्याएर एक खालको माहोल सिर्जना गर्न खोजेकोमा पुलवामा घटनापछि त्यो अस्त्र त्यसै सेलाएजस्तो देखिएको छ । उनी सार्वजनिक गतिविधिमा चर्चा हुने गरी उतिसाह्रो देखिएकी छैनन् । पहिला जुन तरिकाले विपक्षी एकजुट भएको देखिएको थियो अब पनि त्यसलाई कायम राख्ने प्रयास भइरहेको छ । खासगरी उत्तर प्रदेशमा जुन खालको विपक्षी महागठबन्धन बनेर खडा भएको छ र जसरी कांग्रेसले प्रियंका गान्धीलाई इन्ट्री गराएको छ त्यसको असर अझैपनि सामुन्नेमा आउन बाँकी रहेको छ । यो साँचो हो कि प्रियंका गान्धीले अझै आफ्नो मुठ्ठी खोलीसकेकी छैनन् । यसको असर अझैपनि सामुन्नेमा आउन बाँकी छ । अझैपनि उनको बारेमा कुनै पूर्वानुमान गर्न मुश्किल छ । प्रियंका गान्धीले अहिले सम्म एउटापनि सार्वजनिक बैठक गरेकी छैनन् भने पत्रकार सम्मेलन पनि गरेकी छैनन् । अहिलेसम्म उनी आफ्ना पतिको बारेमा भइरहेको कानुनी प्रक्रियामा घेरिएको महसुस भइरहेको छ । उनको भूमिका के होला ? उनी सर्वसाधारणसँग कसरी प्रस्तुत होलिन् ? यसलाई लिएर अझैपनि तस्विर प्रष्ट भइसकेको छैन । जहाँसम्म बाँकी सवालहरु छन् निश्चित रुपमा नै महागठबन्धन सक्रिय हुनेछ । गुजरातमा आगामी एक दुई दिनमा कांग्रेस कार्यसमितिको बैठक हुँदैछ । त्यसपछि त्यहाँ पनि एक हिसाबले चुनावी बिगुल बज्नेवाला छ । कांग्रेसलाई आफ्नो मुद्दा सामुन्ने राख्नु छ । उसलाई देखाउनु छ कि चुनाव प्रचारलाई उ कुन दिशामा लग्न चाहन्छ ।

पुलवामा घटनापछिको अवस्थामा भाजपाले राष्ट्रवादलाई प्रमुख मुद्दा बनाएको छ भने कांग्रेस आतंककारीसँग नरम रहेको उसले आरोप लगाइरहेको छ । हिजो सोमबार मात्रै पनि नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै कंग्रेस आईका अध्यक्ष राहुल गान्धीले कट्टरपन्थी जैश ए मोहम्मदका प्रमुख अजहरलाई ‘मसूद अजहरजी’ भनेर सम्बोधन गरेको कुरालाई भाजपाले आलोचना गरेको छ । केन्द्रीय मन्त्री स्मृति इरानीले प्रश्नोत्तरका रुपमा टिवट् गर्दै भनेकी छन्,‘‘राहुल गान्धी र पाकिस्तानबीच के समानता छ ? आतंकवादीलाई प्रेम ।’’

पछिल्लो अवस्थामा बलाकोटमा भारतीय आक्रमणपछि मोदीको हाइहाइ भएपनि पाकिस्तानले लगत्तै जवाफी कारवाही गर्नु र एक जना पाइलटलाई गिरफतार गरेर पुनः छोड्नुले पाकिस्तानपनि कम रहेनछ भन्ने अवस्था सिर्जना गराइदिएकोले मोदीलाई केही अप्ठेरो पनि परेको छ । त्यसबाहेक कट्टरपन्थी समूहले भारतबाट बालाकोटमा भएको आक्रमणमा कुनै क्षति नभएको दाबी गर्नुले भारतभित्रै विपक्षी नेताहरुले कति मानिस त्यहाँ मारिए र के उदेश्य प्राप्त भयो भनेर मोदी माथि प्रश्न उठाइरहेका छन् । त्यसैगरी त्यतिको संख्यामा भारतीय सुरक्षाकर्मी मारिँदा पनि भारतका गुप्तचर निकाय र सरकारले त्यसको अनुमान पहिला नै किन गर्न सकेनन् भन्ने प्रश्नपनि विपक्षीले उठाइरहेको छ ।

त्यसैले चुनावमा पनि यसैको सेरोफेरोमा चर्चा परिचर्चा र आरोप प्रत्यारोप चल्ने अवस्था देखिएको छ । तर, को होला त अबको भारतीय प्रधानमन्त्री ? त्यो कुराको जवाफ भने आगामी मे महिनाको २३ तारेखमा आउने मत परिणामले प्रष्ट गर्नेछ । तर, चुनाव सुरु हुनुभन्दा १ महिना अघि सम्मको अवस्थालाई हेर्दा भने पुलवामा हमलापछि मोदी गान्धीमाथि हाबी हुन पुगेको अवस्था भारतीयहरुले अनुमान गरिरहेका छन् । (बीबीसी)

तपाईको प्रतिक्रिया