Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

झापा, ८ भदौ २०८३ । करिव डेढ महिनाभित्र ६ जनाको मृत्यु भएपछि झापामा जापानी इन्सेफलाइटिस (जेई) को खोप लगाइने भएको छ । देशभरिमा सबैभन्दा बढी प्रभावित झापामा यस वर्ष ११ जना संक्रमित भएकोमा ६ जनाको मृत्यु भइसकेको छ । जेई प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको हो ।अधिकारीहरूका अनुसार बालबालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्युदर उच्च भएको झापाका ३० वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय भएको छ । झापाका ३० वर्षभन्दा माथिका ७ देखि ८ लाख जनसंख्या रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा जेईबाट चार महिला र दुई पुरुषको मृत्यु भएको छ । हालसम्म मेचीनगरमा दुई तथा हल्दिवारी,बाह्रदशी , बिर्तामोड र अर्जुनधारामा एक–एक जनाको मृत्यु भएको हो । मेचीनगरका ५ , हल्दिवारीका १ , बाह्रदशीका १ , कचनकवलका १ , बिर्तामोडका २ र अर्जुनधाराका १ जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण देखा परेको हो । त्यसमध्ये ६जनाको मृत्यु भइसकेको ,दुईजना उपचारमा रहेको र तीनजना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापामा जेई संक्रमणबाट हुने मृत्युदर ६० प्रतिशत छ, जुन चिन्ताजनक हो । स्वास्थ्यमन्त्री निशा मेहताका विज्ञ सल्लाहकार डा. मनोहर प्रधानले सुरुमा झापाका ३० वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाउने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने जानकारी दिएका छन् ।खोप अभियान सुरु गर्ने मिति अझै तय भएको छैन । ‘आगामी तीन साताभित्र खोप अभियान सुरु गर्छौं,’ स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा। अभियान गौतमले भने ।

 

तपाईको प्रतिक्रिया