Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

केशवराज जोशी

अनलाइन विचार, २७ फागुन । गाउँ–गाउँमा विप्लवका नेता–कार्यकर्ता खोज्दै प्रहरी, ठोस निर्णय गर्न सरकारलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एक कार्यक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई लुटेरा समूहको संज्ञा दिएकै दिन साँझ काठमाडौंमा एक म्यानपावर व्यवसायीको घरमा विष्फोट भयो । घटना विप्लव नेतृत्वकै नेकपाले गरेको निष्कर्ष सुरक्षा निकायले निकाल्यो ।

केहीअघि ललितपुरको नख्खुस्थित एनसेलको गेटमा बम विष्फोट गराएपछि एकपछि अर्को विष्फोटमा विप्लवकै कार्यकर्ताको संलग्नता पाइएको छ । आइतबार (हिजो) मात्रै कलंकीमा प्रेसर कुकर बम सेनाको टोलीले निष्क्रिय बनायो । त्यसअघि सुनसरी र कपिलवस्तुमा अत्याधुनिक हतियारसहित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परे ।

आन्तरिक सुरक्षामा गम्भीर चुनौती बन्दै गएको विप्लवको नेकपाबारे पछिल्लो समय सुरक्षा निकाय चिन्तित देखिन्छ । मुलुकका चारओटै सुरक्षा निकाय विप्लवका हिंसात्मक गतिविधि नियन्त्रण गर्न आवश्यक रणनीति तय गर्न सक्रिय छन् । तर, विप्लवबारे सरकार नै अन्योलमा देखिन्छ ।

गृहमन्त्री रामबहादुर थापाले बारम्बार विप्लव समूहलाई कानुनी दायरामा ल्याइने बताउँदै आएका छन् । तर, सँगसँगै सुरक्षा निकायले विप्लवका कार्यकर्तालाई खोजीखोजी समातिरहेको छ ।
विप्लव माओवादीबाट सिर्जित समस्यालाई राजनीतिक रुपमा हल गर्ने या प्रशासनिक कदमबाट भन्नेमा सरकार द्विविधामा देखिन्छ । कतिपयको बुझाइमा आफ्नै पूर्व सहकर्मीविरुद्ध कठोर बन्दा कार्यकर्तामा नकारात्मक प्रभाव पर्छ कि भन्ने चिन्ता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री थापालाई छ ।

विप्लवले एकपछि अर्को रुपमा गर्दै आएको विष्फोट, चन्दा आतंकका कारण राज्य चुप लागेर बस्न नमिल्ने कतिपयको बुझाइ छ । तर, प्रधानमन्त्री ओलीले विप्लवलाई लुटेरा समूह भन्दा तत्कालीन नेकपा माओवादीका नेता–कार्यकर्ता (जो हाल नेकपामा छन्), सामाजिक सञ्जालमा खनिए । यसबाट पनि विप्लवमाथिको कठोर कदम सहज हुन्न कि भन्ने देखिन्छ । तर, सुरक्षा निकायको निष्कर्षलाई आधार मान्ने हो भने विप्लव खतरनाक सुरक्षा चुनौती बनिसकेका छन् ।

‘मूलधारमा ल्याउने कि निस्तेज गर्ने ?’
गत सातामात्रै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । सुरक्षा गोष्ठीमा गृहमन्त्रीसहित ३ ओटा सुरक्षा निकायका प्रमुख र नेपाली सेनाका अधिकारी सहभागी थिएए । गोष्ठीमा मुलुकको शान्ति सुरक्षामा विप्लव माओवादी गम्भीर चुनौतीको रुपमा देखिएको निष्कर्ष सुरक्षा अधिकारीहरुले गृहमन्त्रीलाई सुनाएका थिए । अत्याधुनिक हतियारसहित नेकपाका कार्यकर्ता समातिनु हलुका विषय नभएको उनीहरुको भनाइ थियो ।

पछिल्लो समय केही स्थानमा नेकपाका कार्यकर्ताले गोप्य रुपमा सैन्य अभ्यास गरिरहेको सूचना पनि सुरक्षा संयन्त्रले बैठकमा जानकारी गराएको एक अधिकारीले बताए । ‘‘विप्लव युद्धकै अवस्थामा आमने–सामने आउन नसकेपनि अस्थिरता पैदा गर्ने ठूलो कारक बन्न सक्छन् । यसबारे गृहमन्त्रीलाई राम्रोसँग व्रिफिङ गरियो,’’ एक सुरक्षा अधिकारीले भने ।

विप्लवलाई कि त मूलधारमा ल्याउन नभए निस्तेजको नीति अघि सार्न सुरक्षा अधिकारीले गृहमन्त्रीलाई सुझाव दिएका थिए । ‘‘यस्तो अवस्थामा विप्लवका गतिविधिविरुद्ध चुप लागेर बस्न सकिँदैन । सरकारले के गर्ने हो ठोस निर्णय लिनुपर्छ,’’ सुरक्षा निकायको एकमत छ ।

गाउँ–गाउँमा कार्यकर्ता खोज्दै प्रहरी
प्रहरीले पछिल्लो समय विप्लवसहित नेता–कार्यकर्ता खोज्न गाउँ–गाउँमा प्रहरी परिचालन गरेको छ । खासगरी कर्णाली प्रदेशका जाजरकोट, कालीकोट, रुकुम, दैलेख, प्युठानलगायतमा जिल्लामा विप्लवका नेता–कार्यकर्ता खोज्न प्रहरी सक्रिय छ । सरकारले विप्लवको नेकपाका नेताहरुलाई देख्यो कि समात्ने र कुनै पनि कार्यक्रम गर्न नदिन निर्देशन दिएको एक डीआईजीले बताए ।

केही साताअघि सिन्धुपाल्चोकमा प्रहरीले विप्लव नेकपाको एक कार्यक्रममा छापा हानेको थियो । पछिल्लो समय नेकपाले तत्कालीन युद्धकालीन अवस्थाजस्तै जंगल र गोप्य स्थानमा मात्रै भेला, बैठक गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया