Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

पोखरा, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताउनुभयो ।

पार्टी बैठक र सरकारसँगको छलफल समेतका आधारमा संविधानको मूल मर्म र भावना, राष्ट्रिय एकता, स्वाधीनतालाई सम्मान गर्दै मूलधारको राजनीतिमा ल्याउने भावनामा सहमति भएको उहाँले बताउनुभयो । सरकारले सबै राजनीतिक प्रवृत्तिलाई मूलधारको राजनीतिमा ल्याउनु जायज कुरा भएको बताउँदै उहाँले यसले समग्र राष्ट्रिय एकता, स्वाधीनता र सबैलाई समेट्न सरकार गम्भीर छ भन्ने देखाएको बताउनुभयो ।

राष्ट्रिय एकताका लागि सकेसम्म सबैलाई समेट्ने लक्ष्यअनुरुप सम्झौता भएको बताउँदै उहाँले सम्झौताका भाषालगायतका विषयमा पनि धेरै विवाद गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । जनअभिमत, जनमत सङ्ग्रहजस्ता विषय संसद्को दुईतिहाइ बहुमतबाट निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो ।

सरकारले सबैलाई समेटेर अघि बढ्ने बताउँदै उहाँले विप्लव नेतृत्वको पार्टीलाई कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा आउन आग्रह गर्नुभयो । नेपालमा विस्फोट तथा हतियारको राजनीतिको अब कुनै अर्थ नरहेको बताउँदै उहाँले वर्तमान परिस्थिति गुणात्मकरूपमा परिवर्तित भइसकेको र विस्फोट तथा हतियारको राजनीति अब सम्भव नभएको र त्यस सम्बन्धमा राज्य चुप लागेर नबस्ने बताउनुभयो ।

पार्टीको एकीकरणपछिका बाँकी काम अन्तिम चरणमा पुगेको र आफूहरू टुङ्ग्याउने क्रममा रहेको बताउँदै उहाँले सरकार पनि आफ्नो गतिमा अघि बढिरहेको बताउनुभयो । थुप्रै कानून बनाउनुपर्ने आवश्यकताका कारण यसले सरकारका काममा केही अलमल भए पनि विकास निर्माणलगायतका काममा सरकार अघि बढिरहेको बताउनुभयो ।

सामाजिक सुरक्षा, बेरोजगारी अन्त्यलगायतका क्षेत्रमा काम भइरहेको उहाँको भनाइ छ । जनताले नेकपाप्रति आशा एवं विश्वास गरेको बताउँदै उहाँले हालै रौतहटमा भएको कार्यक्रममा देखिएको जनताको उपस्थितिले उक्त कुरा पुष्टि गरेको धारणा राख्नुभयो ।

रासस

तपाईको प्रतिक्रिया