काठमाडौं, १ भदौ २०८३ । सत्तारुढ रास्वपाकी सांसद आशिका तामाङ र प्रतिपक्षी नेकपाका सांसद गोपाल शर्माले आफूले सदनमा उठाएको कुरामा रुलिङ नभएसम्म सदनमै उभिने चेतावनी दिए ।
सोमबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै उठेकी आशिकालाई सभामुखले पछि समय दिने भनेर बस्न आग्रह गरेका थिए । आकस्मिक समय सकिएपछि पनि सभामुखले आफूमार्फत सरकारको ध्यानकर्षण भएको भन्दै बोल्न नदिइ बस्न भनेका थिए । आशिकाले अडान नछोडेपछि सभामुखले दुई मिनेटको समय दिए ।
तामाङले ३७ दिनअघि धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल झिकाउन भनी सदनमा कुरा राखेकोमा शून्यमा बिलाएर गएको भन्दै आक्रोश पोखिन् । उनले विदेशमा शवको व्यवस्थापन गर्न अर्थ मन्त्रालयबाट बजेट छुट्याएको दुई हप्ता भएको बताइन् ।
“बजेटलाई चलाउन परराष्ट्र मन्त्रालयले सामान्य कार्यविधि नबनाइदिँदा आज आफ्नाले लासको आस गर्न छोडेका छन्,” आशिकाले भनिन् ।
उनले कार्यविधि नबनेकोप्रति आपत्ति जनाइन् । उनले विदेशमा अलपत्र परेका नेपाली देशको नागरिक होइन भन्ने घोषणा गरिदिनुपर्यो भनी आक्रोश पोखिन् । नभए तुरुन्त शव झिकाउन माग गरिन् ।
“जसरी ३७ दिनदेखि मेरो प्रश्न यस सदनको ढोकामा, झ्यालमा, बेञ्चमा उभिएर बसिरहेको छ । आज म सभामुखज्यूबाट रुलिङ नहुन्जेलसम्म, मेरो प्रश्नको जवाफ पाउन्जेलसम्म उभिएर सदनमा विरोध गर्न चाहन्छु,” उनले चेतावनी दिइन् ।
त्यसअघि नेकपाका सांसद शर्माले गएको साउन २२ गते रुकुम, जाजरकोट र सल्यानलगायत भूकम्पपीडितको काम गर्नका लागि गरेको माग बेवास्था भएको बताएका थिए । “गत २२ गते मैले सरकारलाई ९ दिनको अल्टिमेटम दिएर कम्तिमा जवाफ देओस् भनेर जवाफ खोजेको थिएँ सभामुख महोदय,” उनले भने, “समय तोकेर रुलिङ होस् ।”
दुई सांसदले रुलिङको माग गरेपछि सभामुखले उनीहरूले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन निर्देशन दिए । “।।।तीन दिनभित्र सरकारलाई यसको जवाफ दिन निर्देश गर्छु,” उनले भने ।






