Online Bichar
सोमबार, भाद्र ०१, २०८३ | Monday, August 17, 2026

काठमाडौं, १ भदौ २०८३ । सदन सुरु हुनेबित्तिकै प्रधानमन्त्री वालेन्द्र शाहको खोजीमा विपक्षी दलले गर्दै आएको विरोध ७८औँ दिनमा रोकिएको छ ।

गएको जेठ १७ गते प्रधानमन्त्रीले सदनमा भारतले पनि नेपालको भूमि मिचेको रहेछ भनेर दिएको अभिव्यक्तिपछि विपक्षीले निरन्तर विरोध गर्दै आएका थिए । जेठ २७ गतेसम्म सदन अवरोध नै भएको थियो ।

परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएपछि सदनको अवरोध हटाउन विपक्षी तयार भएका थिए । त्यसपछि बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै आएका थिए । उनीहरूले प्रधानमन्त्रीलाई उक्त अभिव्यक्ति सच्याउनका निम्ति रुलिङको माग गर्दै आएका थिए ।

आजको बैठक सुरु भएपछि पनि विपक्षी दलले उठेर विरोध गरेका थिए ।

आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपक्षीको मागमा आफ्नो ध्यानकर्षण भएको बताए । त्यसपछि उनले प्रधानमन्त्रीलाई प्रश्नोत्तरसहित उठेका प्रश्नमा जवाफ दिन रुलिङ गरे ।

“प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ, यसै सन्दर्भमा प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु,” सभामुखले निर्देशन दिए ।

त्यसपछि उनले विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्रीलाई रूलिङ गरिसकेकोले सभा सञ्चालनमा सहयोग गर्न पनि आग्रह गरेका थिए । अनि विपक्षी दलका सांसद बसे । त्यसपछि सभामुखले आकस्मिक समयमा बोल्ने सांसदहरूलाई समय दिए ।

तपाईको प्रतिक्रिया