Online Bichar
आइतबार, साउन ३१, २०८३ | Sunday, August 16, 2026

झापा, ३० साउन २०८३ । वर्षायाम शुरु भएयता पाँचजनाको मृत्यु भइसकेको झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) का संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

पछिल्लो समय मेचीनगरमा एकजना पुरुष संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) का संक्रमितहरुको संख्या १० पुगेको छ । त्यसमध्ये पाँचजनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेहरुमा तीनजना पुरुष र दुईजना महिला रहेका छन् । मेचीनगरका ४ , हल्दिवारीका १ , बाह्रदशीका १ , कचनकवलका १ , बिर्तामोडका २ र अर्जुनधाराका १ गरी ६ पुरुष र चार महिलामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण देखा परेको हो । त्यसमध्ये पाँचजनाको मृत्यु भइसकेको ,दुईजना उपचारमा रहेको र तीनजना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमितहरु अधिकांश ५० वर्ष माथिका छन् । संक्रमितमा एकजना बालक ७ महिनाका र एकजना ४० वर्ष उमेरको रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए ।

लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) का कारण पछिल्लो चार महिनामा झापामा ५ जनासहित देशभरमा १३ जनाको मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया