काठमाडौं, २९ साउन २०८३ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि आएका एक बिरामीको आकस्मिक कक्षबाहिरै मृत्यु भएको छ । मोरङका ४५ वर्षीय डोलबहादुर थापाको शुक्रबार अस्पतालको आकस्मिक कक्षबाहिर एम्बुलेन्समै मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डा। गोपाल सेढाईंका अनुसार थापा नियमित डायलिसिस गराइरहेका बिरामी थिए । उनलाई स्ट्रोकको समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको बुझिएको छ ।
अस्पतालका अनुसार, बिरामीका आफन्त आकस्मिक कक्षको ‘रेड एरिया’मा पुगेका थिए । तर, त्यसबेला आकस्मिक कक्षमा बेड खाली नभएकाले केही समय बेड व्यवस्थापनका लागि समय दिन चिकित्सकले आग्रह गरेका थिए ।
आफन्तले भने बिरामीलाई अर्को अस्पताल लैजाने बताएका थिए । अस्पतालका प्रवक्ता सेढाईंले भने, ‘आकस्मिक कक्षमा त्यसबेला बेड खाली थिएन । चिकित्सकले बेड व्यवस्थापन गर्न केही समय दिन आग्रह गर्नुभएको रहेछ । तर, उहाँहरूले बिरामीलाई केएमसी लैजान्छौं भन्नुभएको रहेछ ।’
बिरामीलाई एम्बुलेन्समै राखिएको र करिब १०–१५ मिनेटको अवधिमा उनको अवस्था गम्भीर हुँदै मृत्यु भएको बुझिएको छ ।
अस्पताल प्रशासनले भने बिरामीलाई आकस्मिक कक्षभित्र ल्याएर चिकित्सकीय परीक्षण गर्नसमेत नपाइएको जनाएको छ । अस्पतालका प्रवक्ता सेढाईंका अनुसार, एम्बुलेन्समै बिरामीको मृत्यु भएपछि शवलाई आकस्मिक कक्षभित्र ल्याएर चिकित्सकले परीक्षण गर्न आग्रह गरिएको थियो । तर, उक्त प्रक्रिया पूरा हुन नसकेको उनको भनाइ छ ।
‘हामीले शरीरलाई इमरजेन्सीभित्र ल्याइदिनुस्, डेथ हो कि लाइभ हो भनेर चेक गर्छौं भनेका थियौं,’ सेढाईंले भने, ‘तर त्यो गर्न पनि सम्भव भएन ।’
अस्पतालले आकस्मिक कक्षमा बिरामीको चाप अत्यधिक रहेको जनाएको छ । रेड एरिया र येलो एरियासमेत भरिभराउ अवस्थामा रहेकाले नयाँ बिरामीलाई तत्काल राख्ने ठाउँको अभाव हुने गरेको प्रवक्ता सेढाईंको भनाइ छ ।
‘अहिले आकस्मिक कक्षमा धेरै बिरामी छन् । रेड एरिया र येलो एरियामा समेत तत्काल नयाँ बिरामी राख्न सकिने अवस्था छैन,’ उनले भने, ‘हामीले बेड व्यवस्थापन गर्न सक्ने अवस्था हुँदाहुँदै बिरामी एक्सपायर हुनुभयो ।’
बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा ‘बेड नपाएको कारण’ मृत्यु भएको भन्दै नाराबाजी गरिहेका छन् । अस्पताल प्रशासनले घटनाबारे थप विवरण बुझिरहेको जनाएको छ ।






