विराटनगर, २८ साउन २०८३ । भारतीय बिरामीलाई लक्षित गर्दै विराटनगरको दक्षिणी क्षेत्रमा खुलेका सात वटा आँखा अस्पताल स्थानीय प्रशासनले सिलबन्दी गरेको छ । न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालनमा रहेका सात वटा आँखा अस्पताल तथा प्रयोगशाला (ल्याब) लाई प्रशासनले सिलबन्दी गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा बुधबार र बिहीबार गरेको अनुगमनपछि विराटनगर महानगरपालिका–१४ मा रहेको विराट आँखा अस्पताल, विराटनगर–१५ मा रहको इफराह आँखा अस्पताल, विराटनगर–१० मा रहेको सञ्जीवनी आई केयर, विराटनगर–१३ मा रहेको हिमाल आँखा अस्पताल, विराटनगर–९ मा रहेको विराट रानी आँखा अस्पताल, विराटनगर–१५ मा रहेको अखण्ड ज्योती आँखा अस्पताल र विराटनगर–१३ मा रहेको नेपाल आँखा अस्पतालमा सिलबन्दी गरेको हो ।
अनुगमन टोलीका अनुसार यी अस्पतालहरूले सरकारले तोकेको न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्राविधिक मापदण्ड पूरा नगरी बिरामीहरूको स्वास्थ्यमाथि खेलबाड गरेका थिए । ६ वटा अस्पताल पूर्ण रूपमा र एउटा अस्पतालको ल्याबमा गम्भीर त्रुटि भेटिएको थियो ।






