Online Bichar
बिहिबार, साउन २८, २०८३ | Thursday, August 13, 2026

सुनसरी, २८ साउन २०८३ । वर्षायाम सुरु भएसँगै कोशी प्रदेशका पहाडी तथा तराई जिल्लामा चट्याङका घटना बढ्ने गरेका छन् । पछिल्लो पाँच वर्षमा कोशी प्रदेशमा चट्याङका कारण ६६ जनाले ज्यान गुमाएका छन् भने २१८ जना घाइते भएका छन् ।

गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेका बेला इलामको रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो । काठको बेरा र टिनको छानो भएको दुईतले घरको बरन्डामा बसिरहेका मोक्तानलाई राति करिब १ बजे चट्याङ लागेको थियो ।

त्यसैगरी, गत असार १४ गते सङ्खुवासभाको मकालु गाउँपालिका–१, चिर्खाङमा चट्याङ लागेर ३९ वर्षीया कुमारी राईको मृत्यु भयो । ठूलो वर्षा र हावाहुरी चलिरहेका बेला घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यी घटना चट्याङबाट हुने क्षतिका केही उदाहरण मात्र हुन् । बाढी र पहिरोजस्ता देखिने विपद्को तुलनामा कम चर्चा हुने चट्याङले पनि हरेक वर्ष ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याउँदै आएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु आव २०८२/८३ को असारसम्म चट्याङका कारण ६६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४४ पुरुष र २२ महिला छन् । सो अवधिमा २१८ जना घाइते भएका छन् । घाइतेमध्ये ११५ पुरुष र १०३ महिला छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार पुरुषहरू बाहिरी काममा बढी संलग्न हुने भएकाले महिलाको तुलनामा पुरुष चट्याङको जोखिममा बढी पर्ने गरेका छन् ।

कार्यालयका अनुसार आव २०७८/७९ मा १५ जना, आव २०७९/८० मा १२ जना, आव २०८०/८१ मा १२ जना, आव २०८१/८२ मा १८ जना तथा चालु आव २०८२/८३ को असार २५ गतेसम्म नौ जनाको चट्याङका कारण मृत्यु भएको छ ।

पाँच वर्षको अवधिमा चट्याङबाट घाइते हुनेको संख्या सबैभन्दा बढी ओखलढुङ्गामा ४३ जना रहेको छ । भोजपुरमा ४०, उदयपुरमा ३३, खोटाङमा २७ र ताप्लेजुङमा १९ जना घाइते भएका छन् । त्यस्तै झापा र सुनसरीमा १३/१३ जना, धनकुटामा नौ जना, पाँचथर र मोरङमा आठरआठ जना तथा सोलुखुम्बुमा छ जना घाइते भएका छन् । इलाम, तेह्रथुम र सङ्खुवासभामा भने उक्त अवधिमा चट्याङबाट घाइते भएको विवरण शून्य रहेको छ ।

चट्याङबाट मानिस मात्र नभई पशुधन र भौतिक संरचनामा समेत ठूलो क्षति हुने गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता थापाका अनुसार पाँच वर्षको अवधिमा चट्याङका कारण एक हजार ३२ वटा पशुचौपाया मरेका छन् । चट्याङका कारण लागेको आगलागीबाट प्रदेशका १७० वटा घर तथा गोठ जलेर नष्ट भएका छन् । त्यसबाट रु तीन करोड ७२ लाख ६५ हजार ३५० बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोको तुलनामा चट्याङका घटनाले कम चर्चा पाए पनि ग्रामीण क्षेत्रमा यसको जोखिम उच्च रहेको छ । गाउँघरका काठ र टिनले बनेका घरमा चट्याङबाट बच्ने ‘अर्थिङ’ जडान नहुने तथा जोखिमबारे पर्याप्त जानकारी नहुँदा क्षति बढ्ने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ विभागीय मौसमविद् विभूति पोख्रेलका अनुसार पछिल्ला केही वर्षयता मौसममा देखिएको अस्थिरता र जलवायु परिवर्तनको प्रभावका कारण मेघगर्जनसहित चट्याङका घटना बढ्दो क्रममा देखिएका छन् ।

“मनसुन तथा प्रि–मनसुन अवधिमा मौसममा अचानक परिवर्तन भई मेघगर्जन, हावाहुरी र वर्षासँगै चट्याङ पर्ने सम्भावना उच्च रहने भएकाले विशेष सतर्कता आवश्यक हुन्छ”, उनले भनिन् ।

चट्याङले विशेषगरी खुला स्थानमा रहेका मानिसलाई बढी प्रभावित गर्ने गरेको मौसमविद् पोख्रेलले बताइन् । खेतबारीमा काम गरिरहेका किसान, पशुचौपाया चराइरहेका गोठाला, जङ्गलमा घाँसदाउरा सङ्कलन गर्न गएका स्थानीय तथा खुला चौर, डाँडाकाँडा वा नदीकिनारमा रहेका व्यक्ति बढी जोखिममा पर्ने गरेका छन् ।

मौसम खराब हुने सङ्केत देखिएलगत्तै खुला स्थानबाट सुरक्षित आश्रयमा जानुपर्ने, अग्ला रुखमुनि नबस्ने तथा बिजुलीका पोल, टेलिफोनका तार, ट्रान्सफर्मर र अन्य धातुजन्य संरचनाबाट टाढा रहनुपर्ने उनको सुझाव छ । सकेसम्म पक्की भवनभित्र बस्ने, झ्याल–ढोका बन्द गर्ने, विद्युतीय उपकरणको अनावश्यक प्रयोग नगर्ने तथा मौसमसम्बन्धी सूचना र पूर्वानुमान नियमित रूपमा पछ्याउनुपर्ने उनले बताइन् ।

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि व्यक्तिगत सावधानीसँगै विद्यालय, स्थानीय तह, समुदाय तथा सरोकारवाला निकायले नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने मौसमविद् पोख्रेलको भनाइ छ । मौसमसम्बन्धी पूर्वसूचना प्रभावकारी रूपमा स्थानीयस्तरसम्म पुर्‍याउन सके मानवीय तथा भौतिक क्षति घटाउन सकिने उनले बताइन् ।

अभिलेख राख्न ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ आवश्यक

चट्याङ कहाँ, कहिले, कति पटक र कति तीव्रतासहित परेको थियो भन्ने वैज्ञानिक अभिलेख राख्न ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ आवश्यक मानिन्छ । कोशी प्रदेशमा यस्तो प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा नहुँदा चट्याङका घटनाको विस्तृत र वैज्ञानिक अभिलेख राख्न चुनौती रहेको छ ।

जल तथा मौसम विज्ञान कार्यालय धरानका सूचना अधिकारी रूपक थापाका अनुसार प्रदेशभर चट्याङको स्थान, समय, आवृत्ति र तीव्रता मापन गरी अभिलेख राख्ने प्रणाली हाल सञ्चालनमा छैन । उनका अनुसार कोशी प्रदेशमा अहिले विराटनगर विमानस्थलमा रहेको ‘लाइटनिङ डिटेक्टर’बाट मात्रै सीमित रूपमा विवरण प्राप्त हुने गरेको छ ।

विमानस्थलको हवाई सेवा सञ्चालनसँग सम्बन्धित प्रयोजनका लागि जडान गरिएको उक्त उपकरणले विमानस्थल सञ्चालन अवधिमा मात्र रेकर्ड गर्ने भएकाले प्रदेशभरका चट्याङका घटनाको समग्र विवरण सङ्कलन गर्न पर्याप्त नरहेको थापाले बताए ।

धरानमा पनि ‘लाइटनिङ डिटेक्टर’ उपकरण रहेको छ । केही वर्षअघिसम्म सञ्चालनमा रहेको उक्त उपकरण अहिले बिग्रिएको अवस्थामा छ । आवश्यक मर्मत तथा स्तरोन्नति हुन नसक्दा उपकरण पुनः सञ्चालनमा आउन सकेको छैन ।

“धरान कार्यालयमा रहेको लाइटनिङ डिटेक्टर लामो समयदेखि बिग्रिएको कारण अहिले कोशी प्रदेशमा विराटनगर विमानस्थलबाहेक अन्यत्र चट्याङ मापन गर्ने प्रभावकारी प्रणाली छैन”, थापाले भने ।

कोशी प्रदेशमा चट्याङका अधिकांश घटना प्रि–मनसुन र मनसुन अवधिमा हुने गरेका छन् । तर प्रदेशका कुन क्षेत्रमा, कुन समयमा, कति पटक र कति तीव्रतासहित चट्याङ पर्‍यो भन्ने तथ्याङ्क नियमित रूपमा सङ्कलन गर्ने प्रणाली नहुँदा वैज्ञानिक अध्ययन तथा जोखिम विश्लेषणमा कठिनाइ भइरहेको छ ।

चट्याङको वैज्ञानिक अभिलेखले जोखिमयुक्त क्षेत्र पहिचान, पूर्वसूचना प्रणालीको विकास, विपद् व्यवस्थापन योजना निर्माण तथा जनधनको क्षति न्यूनीकरणका लागि महत्वपूर्ण आधार प्रदान गर्ने थापाले बताए । प्रदेशका विभिन्न जिल्लामा लाइटनिङ डिटेक्सन नेटवर्क विस्तार गरी नियमित सञ्चालनमा ल्याउन सके चट्याङसम्बन्धी तथ्याङ्क सङ्कलन, अनुसन्धान तथा पूर्वतयारीका काम अझ प्रभावकारी हुने उनको भनाइ छ ।रासस

तपाईको प्रतिक्रिया