Online Bichar
बिहिबार, साउन २८, २०८३ | Thursday, August 13, 2026

काठमाडौं, २८ साउन २०८३ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बिहीबार (साउन २८) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।

जुन असहज परिस्थितिका कारण उनले देश छाड्नुपरेको थियो, स्वदेश फिर्ता हुँदा कुनै बाधा अवरोध नगर्ने ‘भद्र समझदारी’पछि देउवा एक्लै काठमाडौंमा झरेका हुन् ।

अवतरणपछि देउवा सिधै आफ्नो निवास चुनदेवीतर्फ लागेका छन् । निकटका अनुसार, बिहीबार उनको अरु कुनै कार्यक्रम छैन ।

देउवा गएको फागुन २१ को निर्वाचनको सम्मुखमा मतदान नै नगरी सिंगापुर गएका थिए । देउवा यस्तो समयमा नेपाल फर्किएका छन् कि, विमानस्थलमा उनीनिकट नेताहरू उपस्थित हुँदा कांग्रेस केन्द्रीय कार्यालयमा भने कार्यसमिति बैठक पाँच दिनदेखि जारी छ ।

विशेष महाधिवेशनबाट ‘विस्थापित’ भएका देउवालाई सुरक्षा दिँदै उनीनिकट नेता–कार्यकर्ताहरू विमानस्थलबाट चुनदेवीसम्म नाराबाजी गर्दै पुगेका छन् ।

यता, ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा भने आगामी असोजमा तोकिएको १५औँ महाधिवेशनकेन्द्रित बैठक जारी छ । तर, विमानस्थलमा पुगेका नेताहरू भने अझै पनि देउवालाई नै आफ्नो सभापति मान्छन् । विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति बनेपछि असन्तुष्ट बनेका देउवानिकट समूहले शुक्रबारदेखि आइतबारसम्म (साउन २९–३१) राष्ट्रिय भेला आयोजना गरेको छ ।

यसको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन् । सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ । विमानस्थलमा देउवालाई स्वागत गर्न पुगेका कोइरालाले भने, “हाम्रो सभापति देउवाजी नै हो, अब पार्टी एकताबद्ध हुन्छ ।” भेलालाई देउवाले सम्बोधन गर्ने शशांकले बताए ।

कार्यवाहक दिएका पूर्णबहादुर खड्काले पनि देउवा कांग्रेसको अभिभावक रहेको बताए । “तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा २०८२ भदौ २५ गतेको घटनामा धेरै ठूलो आक्रमण परेर गम्भीर घाइते हुनुभएको सबैलाई थाहा छ । उहाँ थप स्वास्थोपचारका लागि विदेश जानुभएको थियो,” नेता खड्काले भने, “आज उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर आउनुभएको हामीले पायौँ । यसबाट हामी सबै खुसी र उत्साहित भएका छौँ । अब पार्टीको सम्पूर्ण एकता गर्ने सन्दर्भमा उहाँले निर्णायक भूमिका खेल्नुहुन्छ भन्ने मलाई विश्वास छ ।”

देउवा जेनजी आन्दोलनका क्रममा गत वर्षको भदौ २४ गते सांघातिक आक्रमणमा परी घाइते भएका थिए । उनी कात्तिकमा सिंगापुर गएका थिए भने एक महिनाभन्दा लामो बसाइँपछि फर्केका थिए ।

त्यसलगत्तै पार्टी विशेष महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेपछि निष्क्रिय बनेका देउवा चुनाव लड्न चाहन्थे । तर, टिकट नपाएका उनी मतदानभन्दा अगाडि नै फागुन १३ गते उपचारका लागि नेपालबाट सिंगापुर गएका थिए । सिंगापुरमा स्वास्थ्य परीक्षण र उपचारको काम सकिएपछि उनी २०८२ चैत ७ मा हङकङ पुगेका थिए । सरकारका तर्फबाट कुनै अवरोध नहुने निश्चित भएपछि देउवा नेपाल फर्कन सहमत भएको टिप्पणी गरिएको छ ।

यसअघि देउवा दम्पती सिंगापुरमा रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ पुर्जी जारी गरेका थिए । उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको रिटमा सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया