Online Bichar
बुधबार, साउन २७, २०८३ | Wednesday, August 12, 2026

बुटवल, २७ साउन २०८३ । नेपाल वायुसेवा निगमले रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो एउटा जहाजको ‘अपरेटिङ बेस’ राख्ने तयारी अघि बढाएको छ ।

त्यसैको तयारीस्वरूप निगमले विमानस्थलबाट एयरबस ए–३२० को ‘बेस ट्रेनिङ फ्लाइट’ सञ्चालन गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको हो ।

कार्यालयका अनुसार, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनबमोजिम निगमले २०८३ वैशाख २७ गतेदेखि जेठ ३ गतेसम्म विमानस्थलबाट आफ्ना फर्स्ट अफिसर पाइलटहरूलाई एयरबस ए–३२० विमानमा बेस ट्रेनिङ गराइरहेको विमानस्थलका प्रवक्ता इन्जिनियर कुमार सुजखुले विज्ञप्ति जारी गर्दै जनाए ।

बेस ट्रेनिङअन्तर्गत पाइलटहरूलाई वास्तविक विमानमै उडानसम्बन्धी व्यावहारिक अभ्यास गराइन्छ । यसअघि पनि नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एयरबस ए–३२० पाइलटहरूको बेस ट्रेनिङ सञ्चालन गरेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनको दृष्टिले थप प्रभावकारी बनाउने तथा नेपाल वायुसेवा निगमको नियमित उपस्थिति बढाउने तयारीका रूपमा यसलाई हेरिएको छ । विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार, निगमको अपरेटिङ बेस राख्ने तयारीसँगै यहाँबाट हुने उडान गतिविधि थप विस्तार हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया