स्याङ्जा, २७ साउन २०८३ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको छड्के अनुगमनमा ३४ जना कर्मचारी कानुनी कारवाहीमा परेका छन्। अनुगमनका क्रममा ८ जना कर्मचारी कार्यालयमा अनुपस्थित थिए भने १२ जना ढिलोगरी कार्यालय आएका र १४ जनाले ड्रेसकोडको पूर्ण पालना नगरेको भेटिएका हुन्।
जिल्ला सदरमुकामस्थित विभिन्न १३ वटा सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनका लागि छुट्टाछुट्टै ४ समूह खटाइएको प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले जानकारी दिए।
विदा वा काज स्वीकृत नगराइए बसेका ७ जना,हाजिर गरी कार्यालयमा उपस्थित नभएका एकजना,ढिला उपस्थित भएका १२ जना र ड्रेसकोडको पूर्ण पालना नगरेका १४ जना सरकारी कर्मचारी रहेको प्रजिअ घिमिरेको भनाइ छ।
बिहान ९ बजेदेखि गरिएको अनुगमनमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय,भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय,जिल्ला समन्वय समिति,राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ, पूर्वाधार विकास कार्यालय,ऊर्जा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, प्रदेश अस्पताल, प्रदेश जनस्वास्थ्य कार्यालय, भूमि प्रशासन कार्यालय, नापी कार्यालय,एकीकृत सेवा कार्यालय,शिक्षा विकास तथा समन्वय इकाइ र डिभिजन वन कार्यालय रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको भनाइ छ।
ती ३४ जना कर्मचारीलाई कानुन बमोजिम कारवाही गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई ७ दिनभित्र जानकारी गराउन सम्बन्धित कार्यालयलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ।अन्नपूर्णपोष्टबाट






