Online Bichar
मंगलबार, साउन २६, २०८३ | Tuesday, August 11, 2026

काठमाडौँ, २६ साउन २०८३ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायत यातायात सम्बन्धी सेवालाई थप व्यवस्थित गर्न नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ । २०८३ साउन १ गते देखि लागु भएको नयाँ प्रणालीमा लाइसेन्सको नयाँ फारम भर्न र विवरण अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र, आफ्नै नाममा रहेको मोबाइल नम्बर र इमेल अनिवार्य गरिएको छ ।

यसैबिच, सर्भर अपग्रेड र नयाँ प्रणाली लागु गर्ने सन्दर्भमा सिस्टम डाउन भएर देशभरका यातायात कार्यालयमा साउन १ गतेदेखि करिब ३ साता यातायात सम्बन्धी सबै सेवा रोकिएका थिए । अहिले सेवा सञ्चालनमा आइसकेको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले स्पष्ट पारे ।

नागरिक एपबाटै ‘अटो फिल’, विदेशमा हुनेलाई इमेलमा ओटीपी

विभागका अनुसार नयाँ अनलाइन प्रणालीलाई नागरिक एप, राष्ट्रिय परिचयपत्र तथा मोबाइल फोन सेवा प्रदायकको प्रणालीसँग एकीकृत गरिएको छ । अब नागरिक एपमार्फत सेवाग्राहीको विवरण स्वतः भरिने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी, भविष्यमा मुलुक बाहिरबाट समेत यातायात सम्बन्धी सेवा लिने सेवाग्राहीलाई सहज बनाउन इमेलमै ओटीपी प्राप्त गर्न सकिने सुविधा थपिएको छ । यसका लागि सेवाग्राहीले आफ्नो विवरण अद्यावधिक गर्न वा नयाँ आवेदन दिन राष्ट्रिय परिचयपत्र नम्बर, आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर र इमेल अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।

नवीकरणलाई प्राथमिकता

बागमती प्रदेशका कलंकी, ठुलो भर्‍याङ लगायतका यातायात कार्यालयहरूमा नयाँ लाइसेन्सको फारम भर्न नमिल्ने अवस्था रहेको र विभागबाटै सर्भर बिग्रेको भन्दै सेवाग्राहीले गुनासो गरेपछि निर्देशक खतिवडाले अहिले सर्भर चलिरहेको तर लाइसेन्स नवीकरणलाई प्राथमिकता दिएको बताए ।

‘सर्भर नचलेको वा बिग्रिएको होइन, अपग्रेड गर्दा समस्या भएको हो । अहिले चालु भइरहेको छ । हिजोमात्रै एकान्तकुना कार्यालयले १० लाखभन्दा बढी राजस्व उठाएको छ,’ उनले भने, ‘अहिले रिन्यु (नवीकरण) गर्ने सेवाग्राहीको भिड अत्यधिक भएकाले कार्यालयहरूले आन्तरिक व्यवस्थापनका लागि पहिला नवीकरणको काम सक्ने र नयाँको लिने भनेर आफैँ म्यानेज गरेका हुन् ।’

उनका अनुसार सिस्टममा नयाँ फारम भर्ने, लिखित परीक्षा दिने र ट्रायल दिने काम देशभर निरन्तर भइरहेको छ ।

नयाँ प्रणाली राष्ट्रिय परिचयपत्रसँग प्रत्यक्ष जोडिएकाले (भेरिफिकेसन गर्नुपर्ने भएकाले) परिचयपत्र नभएकाहरुको काममात्र रोकिएको निर्देशक खतिवडाले बताए । राष्ट्रिय परिचयपत्र नभएको अवस्थामा एकै दिनमा परिचयपत्रको नम्बर प्राप्त गर्न सकिने उनले बताए ।

परिचयपत्रको कार्ड छापिएर आउन समय लाग्ने भएकाले सेवाग्राहीले चिन्ता लिनु नपर्ने उनको भनाइ छ । ‘फारम भर्नका लागि कार्ड नै चाहिँदैन । जिल्ला प्रशासन कार्यालयमा गएर विवरण दर्ता गराउनासाथ पाइने परिचयपत्र नम्बर भए पुगिहाल्छ, त्यो एकैछिनमा बन्छ,’ उनले प्रस्ट पारे ।

सातै प्रदेशका लागि छुट्टाछुट्टै वेबसाइट

नयाँ प्रणाली कार्यान्वयनसँगै विभागले प्रदेश अनुसार अनलाइन फारम भर्न छुट्टाछुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले अब आफूलाई पायक पर्ने प्रदेशको लिंकमा गएर फारम भर्न सक्नेछन् ।

कोशी प्रदेश: edlvrs.koshi.gov.np

मधेश प्रदेशः  edlvrs.madhesh.gov.np

बागमती प्रदेशः edlvrs.bagamati.gov.np

गण्डकी प्रदेशः edlvrs.gandaki.gov.np

लुम्बिनी प्रदेशः  edlvrs.lumbini.gov.np

कर्णाली प्रदेशः  edlvrs.karnali.gov.np

सुदूरपश्चिम प्रदेशः edlvrs.sudurpashchim.gov.np

 

तपाईको प्रतिक्रिया