बुटवल, २६ साउन २०८३ । खाना पकाउने ग्यासको सहज आपूर्ति नहुँदा बुटवलमा उपभोक्ताहरू ग्यास सिलिन्डर लिन लामबद्ध भएका छन्।
नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीले बजारमा देखिएको ग्यास अभाव र उपभोक्ताको गुनासोलाई सम्बोधन गर्दै बुटवलका विभिन्न स्थानबाट ग्यास बिक्री–वितरणको व्यवस्था मिलाएको जनाएको छ।
निगमका अनुसार बिहान ९ बजेदेखि बुटवलमा तोकिएका ग्यास उद्योगका सिलिन्डर बिक्री–वितरण गरिने भएपछि उपभोक्ताहरू बिहानैदेखि सिलिन्डर लिएर लाइनमा बसेका हुन्। ग्यास लिन उपभोक्ताको भीड बढेपछि कतिपय स्थानमा लामो लाइन लागेको छ।
निगमले बुटवलका बुटवल ग्यास, आरती ग्यास, सिद्धार्थ ग्यास, सिद्धिनाथ ग्यास, त्रिशूल ग्यास, जानकी ग्यास, स्वस्तिक ग्यास, चण्डेश्वरी ग्यास र लुम्बिनी ग्यास बिक्री–वितरण गर्ने जनाएको छ।
यसअघि बजारमा ग्यास नपाएको, रातो कार्ड हुँदासमेत ग्यास नपाएको तथा नयाँ चुल्हो नबोलेको भन्दै उपभोक्ताहरूबाट गुनासो आएको निगमले जनाएको थियो। सोही गुनासोपछि प्राथमिकताका आधारमा ग्यास वितरणको व्यवस्था मिलाइएको हो।






