भैरहवा, २६ साउन २०८३ । एलपी ग्यास उद्योगहरूबाट बजारमा प्रयाप्त मात्रामा ग्यास आपूर्ति हुँदा समेत अभाव देखिएपछि नेपाल आयल निगमको समन्वयमा रुपन्देहीमा ग्यासको खुद्रा विक्री वितरण थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरूको बैठकले आयल निगमको समन्वयमा भैरहवा र बुटवलमा वितरण गर्ने निर्णय गरेको थियो । जसअनुसार,मंगलबारदेखि भैरहवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेड (लुम्बिनी गेट नजिक) र बुटवलमा हाटबजार लाइन बाल मन्दिरको परिसरमा ग्यासको वितरण थालिएको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीका प्रमुख ई.शैलेन्द्र भुसालले जानकारी दिए ।
दुवै स्थानमा ९ वटा ग्यास कम्पनीको ३ हजार सिलिन्डर वितरण गर्ने योजना रहेको उनले बताए । ‘ग्यास आयात निरन्तर भइरहेको छ । कसैको घरमा सकिएको छ भने सहज रुपमा पाउनुहुनेछ । अहिले दुई ठाउँबाट सुरु गरिएको वितरण अगामी दिनमा अन्य स्थानबाट पनि हुनसक्छ’,उनले भने,‘सबैको घरमा ग्यास पुर्याउने हाम्रो प्रयत्न छ तर कसैले अनावश्यक रुपमा ग्यास भण्डारण नगर्नु हुन हाम्रो अनुरोध छ ।’
वितरण स्थलमा ग्यास पाएपछि भैरहवाको गल्लामण्डीका एक उपभोक्ताले ग्यासको लागि भौतारिरहेको अवस्थामा सहज रुपमा प्राप्त भएकोमा खुशी व्यक्त गरेका छन्।अन्नपूर्णपोष्टबाट






