काठमाडौं, २२ साउन २०८३ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किंदा धरपकड भए विरोधमा उत्रिने जनाएको छ ।
नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिले चुनदेवीमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक शशांक कोइरालाले देउवा नेपाल फर्किंदा धरपकड भए विरोधमा उत्रिने बताए ।
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादबारे पुनरवलोकनको अनुमति दिएको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा कोइरालाले विशेष महाधिवेशन अवैधानिक भएकाले आफूहरूले आधिकारिकता पाउने दाबी गरे ।
पूर्वसभापति देउवा २६ गते नेपाल फर्किने र राष्ट्रिय भेलालाई सम्बोधन गर्ने उनको भनाइ छ । देउवाले आधिकारिकता पाए कांग्रेस एक ढिक्का हुने पनि उनको दबी छ ।
चुनदेवीमा सम्पर्क कार्यालय स्थापना भएपछि एकपटक मात्रै पुगेका डा। शेखर कोइरालाको राष्ट्रिय भेलामा समर्थन रहेको उनले बताए ।
नेपाली कांग्रेसको असन्तुष्ट पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दै छ ।






