Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २३६ फगुन । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको कार्य आउँदो पुस महिनासम्ममा पूरा हुने भएको छ । सगरमाथा मापनको संयोजन गरिरहेका नापी विभागका चिफ सर्भेयर अफिसर सुशील डंगोलले भने,“हामी यसमा लागिरहेका छौं । अहिलेसम्म कुनै समस्या आएको छैन । हाम्रो लक्ष्य डिसेम्बरसम्ममा काम सक्ने हो ।”

सगरमाथाको उचाइ बढ्ला कि घटला त ? डंगोलले भने, “हामीले बढ्ला कि घट्ला भन्न्ोतिर सोचेकै छैनौं । काम सक्दाखेरी के परिणाम आउँछ त्यसपछि नै हामी यथार्थ कुरा सार्वजनिक गर्नेछौं । अहिले नै यसै भन्न सकिँदैन ।”

उनका अनुसार सगरमाथाको मापनका लागि अहिलेसम्म आर्थिक वर्ष २०७४–७५मा १७५ किमी लेभलिङ् सर्भे भएको छ भने ७७ किमी मोनुमेन्टेसनको काम सकिएको छ । त्यसैगरी ७७ किमी फागुनभरमा सर्भे गर्ने योजना छ भने कूल लेभलिङ् २४७ किमी हुनेछ ।

विभागले सगरमाथा मापनकै सिलसिलामा नेशनल जिओस्पाटीयल इन्टेलिजेन्स एजेन्सी अमेरिकासँग ग्राभीमिटर सम्बन्धी एमओयुको कार्य प्रक्रियामा रहेको छ भने नापी विभाग र नेपाल पर्वतारोहण प्रतिष्ठानबीच गएको जनवरी २४ मा सर्भेयरलाई तालिम सम्बन्धी सम्झौता भएकोमा सो सम्बन्धी काम शुरु भइसकेको जनाइएको छ । त्यसैगरी अमेरिकाको ट्रिम्बल कम्पनीले सगरमाथा मापनको लागि इक्विपमेन्ट पाएको समेत विभागले जनाएको छ ।

किन नाप्नु परेको सगरमाथा ?

सगरमाथाको उचाइ अहिले ८ हजार ८४८ मिटर मानिन्छ । तर, पछिल्लो समयमा भएका भौगर्भिक गतिविधिले गर्दा यसको उचाइ घटेको हुनुपर्ने अनुमान एकातिर भइरहेका छन् भने अर्कोतर्फ यसको उचाइ बढेको अनुमान गर्ने पनि छन् । तर, वास्तविकता के हो भन्ने बारेमा अहिले नेपाली इन्जिनियरहरु यसको नाप जाँचमा लागिरहेका हुन् । नापी विभागका अनुभवी इन्जिनियरहरुको एउटा टोली अहिले यसका लागि खटिइएको छ ।

सन् १९५५मा सर्भे अफ इण्डियाले यसको मापन गरेर ८,८४८ मिटर उचाई पत्ता लगाएको हो । २०७२ साल वैशाख १२ को भूकम्पपछि यसको उचाइमा असर गर्यो कि भन्ने आम अनुमानलाई तथ्यमा आएर निष्कर्ष निकाल्नका लागि सगरमाथाको मापनको प्रक्रिया अघि बढाइएको हो । यसअघि चीनका तर्फबाट गरिएको एक अध्ययनमा सगरमाथाको उचाइ घटेर ८ हजार ८४४ मिटर भएको बताइएको थियो भने नेशनल जोग्राफिकले गरेको अध्ययनमा यसको उचाइ ८ हजार ८५० मिटर भएको जनाइएको थियो ।

मापन टोलीले बजेट जम्मा २५ करोड मागेको छ । अघिल्ला दुईवर्षमा कूल १७ करोड बजेट छुटिटएको छ । अहिले रकम अभाव नभएको चिफ सर्भे अफिसर डंगोलले बताए ।

थोरै घटेपनि सबैभन्दा उच्च नै
विश्वको दोस्रो शिखर ८ हजार ६११ मिटर अग्लो पाकिस्तानको के–२ हो । त्यसैले सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८४८ मिटरबाट केही मिटर घटेकै भएपनि यो विश्वको पहिलो शिखर नै रहने निश्चित नै छ । किनकि पहिलो र दोस्रोको उचाइ अन्तर नै २३७ मिटर रहेको छ । विश्वकै तेस्रो शिखर सम्मेलन कन्चनजंगापनि नेपालमै रहेको छ । जसको उचाइ ८ हजार ५८६ मिटर रहेको छ ।

तपाईको प्रतिक्रिया