Online Bichar
सोमबार, साउन ११, २०८३ | Monday, July 27, 2026

सप्तरी, ११ साउन २०८३ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार राजविराजमा पनि प्रदर्शन गरिएको छ । सुनसरीको छिमेकी जिल्ला सप्तरी भएकोले जिल्लामा सुरक्षा सतर्कता सप्तरी प्रशासनले बढाएको छ ।

प्रदर्शनकारीहरूले राजबिराजस्थित नेता चोकमा केहीबेर टायर बालेर विरोध प्रदर्शन गरेका थिए। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग गर्दै उनीहरूले नाराबाजीसमेत गरेका थिए ।

स्थानीय युवा सुरेन्द्र दासको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकारका नाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सरकारसँग माग गरिएको छ ।

यसअघि सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो ।

तपाईको प्रतिक्रिया