Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

काठमाडौं, ११ साउन २०८३ । सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवाद झडप र सामाजिक सद्भाव खलल हुने अवस्थामा पुगेपछि नेपाली सेना परिचालन भएको छ ।

सोमबार बिहानैदेखि बख्तरबन्द गाडीमा सुनसरीको देवानगञ्जसहितका क्षेत्रमा नेपाली सेनाको उपस्थिति र गस्ती देखिएको थियो ।

सेनाले सुरक्षित रूपमा आ–आफ्नो घरमा रहन–बस्न र शान्ति सुव्यवस्था कायम गराउने कार्यमा मद्दत गर्न भन्दै माइकिङ समेत गरेको थियो ।

आइतबार राति देवानगञ्ज क्षेत्रमा सुरक्षाकर्मीको गोली लागेर एक युवाको मृत्यु भएपछि सुनसरीका अन्य क्षेत्रमा समेत प्रर्दशन र आगजनी गर्न सुरु भएको थियो । सुनसरी सदरमुकाम इनरुवा, लौकही, कप्तानगञ्जलगायत क्षेत्रमा कर्फ्युका बाबजुद स्थानीयले विरोध गरेका थिए । त्यसलगत्तै नेपाली सेनाको टोली बख्तरबन्द गाडीसहित गस्तीमा निस्किएको थियो ।

कर्फयु लागेको भए पनि कप्तानगञ्ज क्षेत्रमा बिहानैदेखि स्थानीय टायर बालेर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीले तीनवटा किराना पसल, एउटा ग्यारेज र फार्मेसी पसलमा तोडफोड गर्दै आगजनी प्रयास गरेका थिए । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै त्यस लगत्तै सोक्षेत्रमा नेपाली सेनाको टोली परिचालित भएको थियो ।

स्थानीय प्रशासन ऐन २०२८ मा प्रमुख जिल्ला अधिकारीले ूआफ्नो अधिकार क्षेत्रभित्रको कुनै ठाउँमा गम्भीर अशान्ति भएको छ वा हुने सम्भावना छ र सो ठाउँमा भैरहेको शान्ति रोक्न वा अशान्ति हुन नदिन अन्य प्रहरीको मद्दतबाट मात्र सम्भव छैन् भन्ने प्रमुख जिल्ला अधिकारीलाई लागेमा यस सम्बन्धी कारण तथा आधार खुलाई निजले स्थानीय वा नजिकको सशस्त्र प्रहरी वा अवस्थाअनुसार नेपाली सेनाको मद्दत माग्न सक्नेू व्यवस्था छ ।

त्यसरी सशस्त्र प्रहरी वा नेपाली सेनाको मद्दत मागेकोमा गृहमन्त्रालयलाई २४ घण्टाभित्र सबैभन्दा छिटो साधनद्वारा त्यसको सूचना दिनुपर्ने ऐनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया