Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, २४ फागुन । ताप्लेजुङमा दुर्घटनापछि गम्भीर बनेको नेपाल नागरिक उड्डयन प्राधिकरणले अब हेलिकप्टरको लोड घटाउने भएको छ ।

प्राधिकरणले नेपालमा पछिल्लो समय भित्र्याइएका हेलिकोप्टरबाट एउटा सिट हटाएर यात्रु भार कटौती गर्ने निर्णय गरेको हो । प्राधिकरणले एएस३५०/एच१२५ माेडलका हेलिकोप्टरले अब ५ जना मात्रै यात्रु बोक्न पाउनेगरी निर्णय गरेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।

उनका अनुसार निर्माता कम्पनीले यस्ता हेलिकोप्टरमा ६ जना यात्रुसिट र एक पाइलटसिट गरी कुल ७ सिट राखेको हुन्छ । तर अब सामान्य अवस्थामा यी हेलिकोप्टरले ५ जना मात्रै यात्रु बोक्न पाउने गरी निर्णय भएको उनकाे भनाइ छ । यद्यपि हाई अल्टिच्युटमा भने यो क्षमतामा अझै हेरफेर गर्नुपर्ने हुन सक्छ । कम्पनी तथा पाइलटले नै अल्टिच्युड र मौसमको अवस्था हेरी लोड ब्यालेन्स गरेर यात्रु बोक्नुपर्ने नियम लागू गरिने भएको हो ।

प्राधिकरणले पछिल्लो समय हेलिकोप्टरहरुले हिमाली तथा उच्च पहाडी भेगमा उडान भर्दा जथाभावी यात्रु बोक्न थालेको भन्दै हेलिकोप्टर सेवाप्रदायकको सहमतिमै आजै (शुक्रबार) देखि लागू हुनेगरी यी माेडलका हेलिकोप्टरबाट एक सिट हटाउन निर्देशन दिएको हो । तत्काल सिट नै नहटाए पनि एक यात्रु कम गर्नुपर्नेछ ।

नेपालमा असुरक्षित बन्दै गएको हवाइ उडानलाई सुरक्षित र भरपर्दो बनाउने विषयमा बिहीबार हेलिकोप्टर कम्पनीका सञ्चालक तथा से‍वाप्रदायक र प्राधिकरणबीच गहन छलफल भएको थियो । सेवाप्रदायकहरुसँगको छलफलमा प्राधिकरणले पाइलटको छेउमा हुने ‘बेन्चसिट’ मा यात्रु नबोक्न निर्देशन दिएको हो ।

यो नियम तत्काल एएस ३५०/एच १२५ माेडलका हेलिकोप्टरमा मात्र लागू हुने बताइएको छ । अन्य कम्पनीका हेलिकोप्टरबारे भने कुनै नयाँ निर्णय नभएको जनाइएको छ ।

राम्रो मौसम र सुगम ठाउँमा उड्नका लागि उपयुक्त हुने सुविधास्वरुप उपलब्ध सिटको दुरुपयोग भएको भन्दै पाइलट छेउको सो बेन्चसिटमा यात्रु नबोक्ने वा हटाउने भन्नेबारे नियामक निकाय र सेवाप्रदायक सहमत भएका छन् ।

यही फागुन १५ गते ताप्लेजुङमा दुर्घटना भएको एयर डाइनेष्टीको हेलिकोप्टर यही एएस३५०रएच१२५ मोडलको थियो । जसमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठलगायत सवार सातै जनाको निधन भएको थियो । हाल नेपालमा यस मोडलको २० हेलिकप्टर रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया