Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २४ फागुन । भूतपूर्व गोर्खाहरुका लागि बेलायत सरकारले बिहीबार विशेष सहयोग प्याकेज घोषणा गरेको छ । बृटिश गोर्खा समुदायले उठाएका विभिन्न मागहरु सम्बोधन गर्न गठित संयन्त्रको सिफारिस तथा नेपाल सरकार र बृटिश गोर्खा समुदायसँगको संवादका आधारमा यो प्याकेज घोषणा गरिएको बेलायती रक्षा मन्त्रालयले जारी गरेको बुलेटिनमा सो कुरा उल्लेख छ ।

बेलायती रक्षा मन्त्रालयले बिहीबार प्रकाशित गरेको सो बुलेटिनमा सन् २००७ भन्दा पहिला बेलायतमा सेवा गरेका करिब २२ हजार बृटिश गोर्खाहरुको पेन्सन बृद्धि गरी सन् २०१६ को जनवरी १ देखि नै लागु हुने गरी एकमुष्ट उपलब्ध गराइने घोषणा गरिएको छ ।

त्यस्तै, ८० वर्ष उमेर पुगेका भुपू बृटिश गोर्खाको पेन्सनमा विशेष बृद्धि गरिने घोषणा समेत गरिएको छ । यस्तै, आउँदो १० वर्षको अवधीमा नेपालका ५ वटा शहरमा गोर्खा र तिनका परिवारको लागि मेडिकल सेन्टर स्थापना गर्ने तथा यसअघि गोर्खा पेन्सन बापतको रकम भारतको बैंक हुँदै नेपाल पठाउने प्रचलन रहेकोमा अबदेखि सीधै नेपालको बैंकमार्फत पठाइने भएको छ । त्यस्तै गोर्खा बृगेडमा ४ वर्षभन्दा कम अवधी सेवा गरी स्वास्थ्यको कारणले नेपाल फर्केकाहरुलाई समेत बेलायतमा गएर बसोबास गर्न सक्ने व्यवस्थाको लागि आवश्यक कार्य अघि बढाइने समेत प्याकेजमा उल्लेख छ ।

प्याकेजमा घोषणा गरिएअनुसार सन् २०१६ को जनवरी १ देखि लागु हुने गरी ३४ प्रतिशतका दरले पेन्सन बृद्धि गरी गुडविल प्याकेजका रुपमा यो बृद्धि एकमुष्ट उपलब्ध गराउन ४६ मिलियन पाउण्ड अर्थात् नेपाली रूपैयाँ करिब ६ अर्ब ७० करोड व्यवस्था गरिएको, सन् २०१९ को अप्रिल १ देखि ३४ प्रतिशतसम्मको पेन्सन बृद्धिका साथै नेपालको मुद्रास्फिती अनुसार थप ३ दशमलब ७ प्रतिशत बृद्धि हुने र सोको लागि प्रतिवर्ष १५ मिलियन पाउण्ड अर्थात नेरु २ अर्ब २५ करोड छुट्याइएको जनाइएको छ ।

अहिलेको पेन्सन बृद्धिले सबैभन्दा कम पेन्सन पाउने भुतपूर्व गोर्खाले समेत वार्षिक ७ लाख ३० हजार पाउने, भूतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवार लगायतलाई सहज तबरले औषधोपचारको व्यवस्था गर्न १० वर्षको अवधीमा नेपालका ५ वटा शहरहरु दमक, धरान, पोखरा, बुटवल र काठमाडौंमा स्वास्थ्य केन्द्र स्थापना गर्ने र सो प्रयोजनको लागि थप २५ मिलियन पाउण्ड अर्थात् करिब ३ अर्ब ६० करोडको व्यवस्था गरिएको बेलायतबाट बृटिश गोरखा सत्याग्रह अभियानका निर्देशक ज्ञानराज राईले बाह्रखरीलाई जानकारी दिए ।

यसअघि गोर्खा बृगेडमा ४ वर्षभन्दा कम अवधी सेवा गरी स्वास्थ्यको कारणले नेपाल फर्केकाहरुलाई समेत बेलायतमा गएर बसोबास गर्ने व्यवस्थाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ । बेलायतका रक्षा राज्यमन्त्री मार्क लंकास्टारले सो प्याकेज घोषणा गर्दै बृटिश गोर्खाको पेन्सनमा बृद्धि र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहयोगले गोर्खा र उनीहरुको परिवारलाई मद्यत पुग्ने जनाएका छन् ।

उनले भनेका छन्, “गोर्खाप्रति मेरो ठूलो सम्मान छ । उनीहरु बेलायती सेनाका लागि विगत २०० वर्ष भन्दा अघि देखि महत्वपूर्ण रहेका छन् । मैले आशा गरेको छु आगामी धेरै वर्ष सम्म महत्वपूर्ण रहनेछन् । यसमा पर्याप्त रकम रहेको छ र यो हुनुको कारण नेपाल सरकार र गोर्खा भेट्रानसँग गरिएको संवादको प्रतिफल हो,” बृटिश रक्षा राज्यमन्त्रीले बुलेटिनमा भनेका छन् ।

उनी केही साताअघि मात्रै नेपालमा आएर बृगेड अफ गोर्खाजको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापालाई समेत भेटेका थिए ।

छक्याउने काम भयो : बृटिश गोर्खा

बृटिश गोर्खा सत्याग्रह अभियानका निर्देशक ज्ञानराज राईले लण्डनबाट फोनमा बाह्रखरीसँग भने, “नेपालको बैंकमार्फत एकमुष्ट रकम पठाउने बेलायती रक्षा मन्त्रालयको निर्णय स्वागतयोग्य छ । तर, हामीले बेलायतीसरह समान पेन्सन दिनुपर्ने माग गरेकोमा त्यो माग भने सम्बोधन गरिएको छैन । त्यसैले यहाँ पनि छक्याउने प्रयास भएको छ ।”

गोर्खाहरुले महत्वका साथ उठाउँदै आएको ३० वर्ष माथिका सन्तान समेतलाई आवासीय अधिकार दिनुपर्ने, बेलायतमा बस्ने भुपू गोर्खाहरुको विदाको अवधी बढाउनुपर्ने लगायतका मागको पनि सम्बोधन नभएकोमा राईले असन्तुष्टि व्यक्त गरे ।

तपाईको प्रतिक्रिया