Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौँ, २४ फागुन । २१ भदौ २०७२ मा भएको ठेक्का सम्झौताअनुसार काठमाडौंको अनामनगरस्थित धोबीखोला पुल २० माघ ०७३ मै सकिनुपर्ने थियो । ठेकेदार कम्पनी भण्डार(थोडङ्गा जी टेकले समयमा काम नसकेपछि २५ असार ०७५ सम्मका लागि म्याद थपियो । तर, म्याद फेरि गुज्रियो । अहिले पिलर ठड्याएर स्ल्याब राख्ने वेलामा फेरि पुलको नक्सा नै गल्ती भएको भन्दै काम रोकिएको छ ।

चार वर्षअघि पुलको ‘ड्रइङ एन्ड डिजाइन’ गरेको सडक डिभिजन कार्यालय मीनभवनले नै अहिले नक्सा गल्ती भएको जनाएको छ । ‘पुलको नक्सामै केही समस्या देखिएको छ । अब साबिकको नक्सामा पुल बनाउन सकिन्न,’ कार्यालय प्रमुख कैलाशकुमार श्रेष्ठले भने, ‘नयाँ नक्सा बनाएर काम गर्नुपर्छ । केही समय लिन सक्छ ।’

सडक डिभिजनले नै दिएको पुरानो नक्साअनुसार निर्माण कम्पनीले पुलको जग हालेर पिलर ठड्याएको छ । ३ करोड २२ लाख ठेक्का लागेको पुल निर्माणमा अहिलेसम्म १ करोड ५९ लाख सकिएको छ । तर, अहिलेसम्म सकिएको निर्माण नयाँ नक्साअनुसार कति भत्काउनुपर्छ निश्चित छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

साबिकको पुल बर्खाको भेलले भत्काएपछि धोबीखोलामा दुई लेनको १२ मिटर लामो पुल निर्माण कार्य अघि बढाइएको थियो । तत्काल पुल नभएपछि स्थानीयले भने फलामको फड्के हालेर वारपार गरेका थिए । तर, गत वर्षको भेलले फड्के पनि बगाएपछि स्थानीय समस्यामा छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया