Online Bichar
शुक्रबार, आषाढ २६, २०८३ | Friday, July 10, 2026

काठमाडौं, २५ असार २०८३ । महालेखा नियन्त्रक कार्यालयले असार २५ गते अर्थात् आज राति १२ बजेदेखि स्थानीय तहहरूको चालु आर्थिक वर्षको आर्थिक कारोबार सञ्चालनमा प्रयोग हुँदै आएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (शुत्र) बन्द हुने जनाएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम १ बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअगावै भुक्तानी निकासा र खर्चको लेखा अद्यावधिक गरी बन्द गर्नुपर्ने व्यवस्थाअनुसार यो निर्देशन जारी गरिएको हो ।

कार्यालयका अनुसार, असार २५ गतेपछि प्रणाली बन्द भए तापनि सोही नियमावलीको नियम ३० को उपनियम ७ बमोजिम असार ३२ गतेसम्म हिसाब मिलानका लागि निश्चित प्रयोजनका कारोबारहरू मात्र गर्न पाइनेछ । यसकारण प्रणाली बन्द भएपछि पनि देहायका कार्यहरूका लागि मात्र कारोबार खुला रहने कार्यालयले स्पष्ट पारेको छ ।

जसअन्तर्गत भुक्तानीमा कट्टी भई दाखिला हुन बाँकी रहेका दायित्वहरू (जस्तैः अग्रिम आयकर, मु.अ. कर, पारिश्रमिक कर, नागरिक लगानी कोष, बिमा कोष, धरौटी आदि) बैंकमा जम्मा गर्ने भनेको छ । असार २५ सम्ममा शुत्रबाट भएका तर विभिन्न कारणले ‘ट्रान्सफर रिजेक्ट’ भएका पुनः भुक्तानी गर्ने, संघीय तथा प्रदेश सरकारबाट प्राप्त ससर्त, समपूरक र विशेष अनुदानको बाँकी रहेको रकम सम्बन्धित कार्यालयहरू (को.ले.नि.का. वा प्र.ले.नि.का.) मा फिर्ता गर्ने उल्लेख छ ।

यस्तै, स्थानीय तहका विभिन्न खाताहरूबाट सञ्चित कोष खातामा रकम ट्रान्सफर गर्ने, बैंक खातामा जम्मा गरेको भौचर संलग्न राखी पेश्की फछ्र्यौट र अन्य रकम समायोजन गर्ने भनिएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै स्थानीय तहहरूलाई यसै बमोजिम व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया