काठमाडौं, २५ असार २०८३ । अटिजममा आधारित नमूना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापन गर्ने सन्दर्भमा अवधारणापत्र तयारीका लागि गठित प्राविधिक समितिले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
मन्त्रालयले गठन गरेको प्राविधिक समितिले करिब तीन महिनाको अध्ययनपछि तयार गरेको प्रतिवेदन आज मन्त्री पोखरेललाई हस्तान्तरण गरेको हो ।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको संयोजकत्वमा विज्ञहरू सम्मिलित ६ सदस्यीय प्राविधिक समिति गठन गरिएको थियो । समितिले करिब तीन महिनाको अवधिमा प्रतिवेदन पेस गरेको हो ।
प्रतिवेदन ग्रहण गर्दै शिक्षामन्त्री पोखरेलले प्रतिवेदन चाँडै कार्यान्वयनमा ल्याइने बताए । उनले अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले अटिजम नमूना विद्यालय स्थापना गर्न लागको पनि जानकारी दिए ।
समितिका संयोजक श्रेष्ठले एक संघीय अनुसन्धान केन्द्र तथा प्रत्येक प्रदेशमा नमुना विद्यालय स्थापनाका लागि आवश्यक मापदण्डसहितको प्रतिवेदन तयार गरिएको उल्लेख गरे ।
विशिष्टीकृत अटिजम सम्बन्धी सेवा पाउने सुनिश्चिततासहित अवधारणा पत्रमा समेटिएको उनले बताए ।
विश्व अटिजम सचेतना दिवसका अवसरमा सात वटै प्रदेशमा अटिजममा आधारित नमुना विद्यालय स्थापना गर्ने घोषणा गरिएको थियो । सोही घोषणाको कार्यान्वयनका लागि प्रतिवेदन तयार गरिएको हो ।






