घोडाघोडी (कैलाली), २५ असार २०८३ । कैलालीको घोडाघोडी नगरपालिका –१ सुखड स्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण जिल्ला प्रहरी कार्यालय कैलाली तानिनुभएको छ ।
घटनासँगै सार्वजनिक कार्यक्रममा प्रहरी अधिकृतले दिने अभिव्यक्ति, राजनीतिक तटस्थता र प्रहरी आचारसंहिताबारे पुनः बहस सुरु भएको छ ।
घोडाघोडी नगरपालिका –७ दरख माध्यमिक विद्यालय हरिनगरमा आयोजित लागुऔषध दुव्र्यसनविरुद्धको जनचेतना कार्यक्रममा विद्यार्थीलाई सम्बोधन गर्ने क्रममा डीएसपी चौधरीले “हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हौं । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो । केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो । त्यसकारण हामी नेपाल पुलिस हौं” भन्नुभएको थियो ।
कार्यक्रमकै क्रममा उहाँले नेपाल प्रहरी राजनीतिक प्रभावबाट नभइ खुला प्रतिस्पर्धाबाट छनोट भइआएको संस्था भएको उल्लेख गर्नुभएको थियो । कार्यक्रममा प्रत्यक्ष सहभागी हुनुभएका विद्यालयका शिक्षक दिनेशकुमार लामिछानेले विद्यालयले दुई हप्ताअघि आयोजना गरेको कार्यक्रममा डिएसपी चौधरीले धारणा राख्नुभएको बताउनुभयो ।
उहाँको अभिव्यक्ति सहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि डिएसपी चौधरीलाई सोधपुछका लागि बुधबार साँझ धनगढी बोलाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले डीएसपी चौधरीलाई प्रारम्भिक सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बोलाइएको बताउनुभयो ।
सार्वजनिक कार्यक्रममा व्यक्त गरिएको भनाइ कुन सन्दर्भमा आएको हो रु विषयमा जानकारी लिन र उहाँको कार्यक्षेत्रको समग्र शान्ति सुरक्षाका बारेमा सोधपुछका लागि बोलाइएको जानकारी आफूले पाएको उहाँले बताउनुभयो ।
डिएसपी चौधरीले आफू कानुन विपरित गएर कुनै अभिव्यक्ति नदिएको बताउनुभयो । आफूले बालबालिकालाई उत्प्रेरित गर्ने सन्दर्भमा उदाहरणस्वरुप दिइएको अभिव्यक्तिलाई गलत अर्थ लगाइएको उल्लेख गर्नुभयो ।गोरखापत्र अनलाइनबाट






