झापा, १८ असार २०८३। झापाको झापा गाउँपालिका–४, चौधरीटोलबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६ः३० बजे प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध नियन्त्रण ब्युरो, काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिमाथि शंका लागेपछि जाँच गरेको थियो।
जाँचका क्रममा दमक नगरपालिका–८ निवासी ३७ वर्षीय चन्द्रबहादुर तामाङ र भारतको बिहार राज्य, किशनगञ्ज जिल्ला, दिघलबैंक थाना अन्तर्गत कुतुवाभिट्टा निवासी १९ वर्षीय अब्दुल रहमानको साथबाट कालो प्लास्टिकमा पोका पारेर लुकाइछिपाइ ल्याउँदै गरेको ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद पदार्थको तौल प्लास्टिकसहित २८ ग्राम ५३ मिलिग्राम र प्लास्टिकबाहेक २५ ग्राम १९ मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।






