काठमाडौँ, १७ असार २०८३ । पछिल्लो समय स्वास्थ्य बीमा नवीकरण नगर्नेको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण नगरेको देखिएको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लले हालसम्म झन्डै ७० लाख नागरिक सक्रिय बिमित रहेको बताए । यस्तै, कुल बिमितको सङ्ख्या झन्डै एक करोड ८ लाख छ । यसरी हेर्दा नवीकरण नगर्नेको सङ्ख्या झन्डै ३८ लाख देखिन्छ । बोर्डका अनुसार ४० प्रतिशतले स्वास्थ्य बीमा नवीकरण गरेका छैनन् ।
२०७२ चैत २५ गते कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । देशभर ४२५ वटा प्रथम सेवा विन्दु स्वास्थ्य संस्था तोकिएका छन् । बोर्डको अद्यावधिक विवरण अनुसार सन् २०१६ मा बिमितको सङ्ख्या ३२ हजार थियो । सन् २०२४ मा बिमितको सङ्ख्या ५६ लाख ८० हजार पुगेको थियो । यसरी हेर्दा बीमा गर्ने कुल वृद्धिदर १७८ हुन आउँछ, तर नवीकरण गर्नेको सङ्ख्या उल्लेखनीय रूपमा बढ्न सकेको छैन ।
बोर्डले स्वास्थ्य बीमामा आबद्ध हुनेको सङ्ख्या उत्साहजनक भए पनि नवीकरणमा ठुलो चुनौती रहेको औँल्याएको छ । बोर्डले उपलब्ध गराएको तथ्याङ्क विश्लेषण गर्दा आर्थिक वर्ष २०८१/०८२ मा कुल बिमित सङ्ख्या ९८ लाख ७४ हजार ४१५ जना थियो । यही आर्थिक वर्षमा नवीकरण गर्नेको सङ्ख्या अर्थात् सक्रिय बिमितको सङ्ख्या ५९ लाख ७० हजार ४०३ थियो । यसरी कुल बिमितमध्ये करिब ६० प्रतिशतमात्र सक्रिय देखिन्छन् । ४० प्रतिशत बिमितहरूले आफ्नो बीमा नवीकरण नगरेको देखिन्छ । जसले गर्दा कार्यक्रमको दिगोपनामा प्रश्न खडा गरेको बोर्डको विश्लेषण छ ।
बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले आवश्यकता परेको बेलामात्रै नागरिकले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेको बताइन् । उनले भनिन्, अप्रेसन गर्ने बेलामात्रै बीमा नवीकरण गर्नुहुन्छ । उपचार गर्यो, सकियो ।’
बोर्डका सूचना अधिकारी मल्लले पछिल्लो समय नवीकरण गर्ने दर घटेको बताए । उनले भने, ‘६० प्रतिशतले स्वास्थ्य बीमा नवीकरण गर्छन् । ४० प्रतिशतले स्वास्थ्य बीमा नवीकरण नगरेको देखिन्छ । हाल निजी अस्पतालमा आकस्मिक सेवामा मात्रै बीमा सेवा उपलब्धता छ । सरकारी अस्पतालमा भिडभाड छ । बीमा कार्यक्रम लागु भएका कतिपय अस्पतालमा औषधिको अभाव देखिएको गुनासो आउँछ । बिमितहरूले स्वास्थ्य सेवा प्राप्त गर्न झन्झटिलो प्रक्रिया छ । औषधि नभएको, सेवा प्रभावकारी नभएको गुनासो हामीकहाँ पनि आउँछ । त्यही भएर पनि नवीकरण गर्नेहरूको सङ्ख्या घटेको हुन सक्छ ।’
बोर्डका अनुसार आफूले चाहिएको बेलामात्रै नवीकरण गर्ने, आवश्यकता नपरेर पनि नवीकरण नगर्ने देखिएको छ । बोर्डका एक अधिकारी भन्छन्, ‘पालिकाले पनि छुट्टै बीमा गर्छ, तर पालिकाले त्यसको अद्यावधिक नगरिदिँदा पनि नवीकरण हुनेको सङ्ख्या घटेको हुन सक्छ । आम सर्वसाधारणलाई नवीकरण कहिले हुन्छ भन्ने थाहा नभएर पनि वा सूचना नपाएको पनि हुन सक्छ ।’
कहिले–कहिले नवीकरण गरिन्छ ?
स्वास्थ्य बीमा कार्यक्रममा जुनसुकै महिनामा पनि सदस्यता दर्ता गर्न सकिन्छ, तर दर्ता गरेपछि सेवा तुरुन्तै सक्रिय नहुने भएकाले सदस्यहरूले यो विषयमा विशेष ध्यान दिनुपर्ने बोर्डले जनाएको छ ।
बोर्डले सार्वजनिक गरेको तालिका अनुसार कुनै पनि महिनामा सदस्यता दर्ता गरेमा सोको दुई महिनापछि मात्र सेवा क्रियाशील हुन्छ । जस्तै, वैशाख महिनामा दर्ता गरेमा असार १ गतेदेखि सेवा सक्रिय हुन्छ भने जेठमा दर्ता गरेमा साउन १ गतेदेखि, असारमा दर्ता गरेमा भदौ १ गतेदेखि सेवा सक्रिय हुने गरी क्रमशः प्रत्येक महिनाका लागि यही ढाँचा लागु हुन्छ । यसैगरी अन्तिम महिना चैतमा दर्ता गरेमा जेठ १ गतेदेखि सेवा क्रियाशील हुनेछ ।
सेवा निरन्तरताका लागि सदस्यहरूले हरेक वर्ष आफूले दर्ता गरेकै महिनामा बीमा नवीकरण गर्नुपर्ने बोर्डले स्पष्ट पारेको छ । अर्थात् वैशाखमा दर्ता गर्नेले अर्को वर्ष वैशाखमै, जेठमा दर्ता गर्नेले अर्को वर्ष जेठमै नवीकरण गर्नुपर्नेछ । नवीकरणको भुक्तानी ईसेवा, खल्ती र कनेक्ट आईपीएस जस्ता विद्युतीय माध्यमबाट पनि गर्न सकिने बोर्डले जनाएको छ ।
देशभर दैनिक ६० देखि ७० हजार सङ्ख्यामा दाबी
बीमा बोर्डमा प्राप्त हुने दाबी सङ्ख्या तीव्र गतिमा बढेको छ । बोर्डले दैनिक ६० देखि ७० हजार सङख्यामा क्लेम अर्थात् दाबी आउने गरेको बताएको छ । बोर्डका एक कर्मचारीले भने, ‘बोर्डमा एक जनाले चारपाँच वटासम्म क्लेम (दाबी) गर्नुहुन्छ । आजभोलि दैनिक ७० हजारसम्म दाबी आउँछ ।’
प्राप्त दाबीलाई रुजु तथा त्यसलाई जाँच गर्ने जनशक्ति पर्याप्त नहुँदा दाबी भुक्तानीमा ढिलाइ र व्यवस्थापकीय समस्या निम्त्याएको बोर्डको विश्लेषण छ ।
५१० वटा अस्पताललाई दाबी गरिएको भुक्तानी
प्रजापतिले आफू आएपछि सूचीकृत ५१० वटा अस्पताललाई दाबी गरिएको भुक्तानी रकम उपलब्ध गराइएको बताइन् । उनका अनुसार बोर्डले पछिल्लोपटक ६ अर्ब रुपैयाँ पुरानो ‘पेन्डिङ’ अस्पतालहरूलाई उपलब्ध गराएको छ ।
स्वास्थ्य बीमा नेपाल सरकारद्वारा सञ्चालित सामाजिक स्वास्थ्य सुरक्षा अन्तर्गतको कार्यक्रम हो, जहाँ स्वास्थ्य सेवा उपयोगको क्रममा हुने आर्थिक जोखिम न्यूनीकरण गर्न व्यक्तिगत खर्च घटाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरी वित्तीय संरक्षण प्रदान गर्ने गरिन्छ ।
स्वास्थ्य बीमामा आबद्ध हुन प्रतिपरिवार (५ जनासम्म) तीन हजार पाँच सय रुपैयाँ वार्षिक रूपमा योगदान रकम तिर्नुपर्नेछ र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिथप सदस्य सात सयका दरले शुल्क लाग्नेछ । बोर्डका अनुसार एकाघर परिवारमा एकदेखि पाँच जनासम्म जति भए पनि तीन हजार पाँच सय रुपैयाँ नै लाग्छ ।
निजी स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेक स्वास्थ्य बीमा सेवा स्थगित
निजी स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमा सेवा स्थगित भएको छ । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिँदै आएका आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू गत जेठ १६ गतेदेखि स्थगित गरिएको छ । स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय सङ्कटलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्म स्थगित गरेको हो ।
स्वास्थ्य बीमा कोषको प्रभावकारी वित्तीय व्यवस्थापन, कार्यक्रमको दिगोपन सुनिश्चित गर्नुका साथै आकस्मिक तथा अत्यावश्यक सेवामा बीमितको पहुँच निरन्तर कायम राख्न सेवा स्थगित गर्नु परेको बोर्डले जनाएको छ । यस विषयमा सरोकारवालाहरूले विरोध गरेका छन् । कार्यकारी निर्देशक प्रजापतिले भनिन्, ‘निजी अस्पतालहरूले विरोध गर्नु स्वाभाविक हो, उहाँहरूको व्यापार घट्यो नि ।’
सेवा प्रदायकमात्रै ५०५ वटा
स्वास्थ्य बीमा बोर्डका अनुसार बीमा कार्यक्रम प्रदान गर्ने सेवा प्रदायक संस्थाको सङ्ख्या ५०५ पुगेको छ । जसअन्तर्गत् ४४१ वटा सरकारी संस्था, ३७ निजी र २७ सामुदायिक स्वास्थ्य संस्था छन् ।रातोपाटीबाट






