काठमाडौं, १३ असार २०८३ । काठमाडौंको अधिकतम तापक्रम आज (असार १३) ०८३ साल लागेयताकै बढी मापन गरिएको छ । यस दिन काठमाडौंको अधिकतम तापक्रम ३१.७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंको अधिकतम तापक्रम यो वर्ष यसअघि पनि ३१ डिग्री पुगेको थियो । तर, शनिबारको तापक्रम यसअघिका भन्दा बढी हो ।
“यस वर्ष यसअघि पनि ३१ डिग्री पुगेको थियो, आज ३१.७ डिग्री छ,” महाशाखाका मौसमविद् रोजन लामिछानेले भने, “रेकर्ड हेर्दा यो तापक्रम वैशाख लागेयताको बढी देखिन्छ ।”
काठमाडौंको अधिकतम तापक्रम शुक्रबार (असार १२) ३०.५, बिहीबार (असार ११) ३१, बुधबार (असार १०) ३०.६ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
शनिबार काठमाडौंमा बिहानैदेखि घाम चर्किएकाले तापक्रम बढेको उनले बताए । वर्षाको सम्भावना राति र आइतबार (असार १४) बिहानतिर रहेकाले गर्मीबाट राहत हुन सक्ने उनको भनाइ छ ।
“काठमाडौंमा वर्षाको सम्भावना आज राति र भोलितिर पनि अलिअलि देखिन्छ,” उनले भने, “परिरहने होइन, केही बेर परेर रोकिने खालको हल्का वर्षाको सम्भावना छ ।”
देशका केही भूभागमा भने मध्यमसम्म वर्षाको सम्भावना छ । कतिपय स्थानमा शनिबार दिउँसो वर्षा भएको छ । “अब मनसुनको गतिविधि बढ्दा पर्सि (असार १५) देखि देशमा वर्षाको सम्भावना अलि बढी देखिन्छ,” मौसमविद् लामिछानेले भने ।
अब बढ्दै छ वर्षा, कहिले हुन्छ मनसुन सक्रिय ?
काठमाडौंको हालसम्मकै बढी तापक्रम ३६.६ डिग्री हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री मापन गरिएको थियो ।
हाल कोसी, मधेस, वाग्मतीका सम्पूर्ण, गण्डकीका केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानसम्म मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
यस दिन महाशाखाले सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.६ डिग्री छ । नेपालगन्जको अधिकतम तापक्रम शुक्रबार ४०.८, बिहीबार ४१, बुधबार ४०.५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
शनिबार धनगढीको अधिकतम तापक्रम ४०.४, वीरेन्द्रनगरको ३८.२, दिपायल र भैरहवाको समान ३७.५, सिमराको ३६.२, जनकपुरको ३५.८ डिग्री मापन गरिएको छ ।






