काठमाडौँ, ११ असार २०८३ । नेपाल मेडिकल काउन्सिलले हेलो एनएमसी पोर्टल सञ्चालनमा ल्याएको छ। काउन्सिलले बिहीबारदेखि डिजिटल जिज्ञासा, गुनासो, उजुरी तथा सुझाव पोर्टल औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।
आफ्नो सेवा प्रवाहलाई थप पारदर्शी, छरितो, उत्तरदायी र प्रविधिमैत्री बनाउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको काउन्सिलका निमित्त रजिष्ट्रार डा।दिपेन्द्र पाण्डेले जानकारी दिए।
नयाँ व्यवस्था अनुसार अब आम सर्वसाधारण नागरिक तथा दर्तावाला चिकित्सकहरूले काउन्सिलको कार्यालयमा भौतिक रूपमा उपस्थित नभई काउन्सिलका कामकाज, प्रशासनिक सेवा वा चिकित्सा क्षेत्रसँग सम्बन्धित विषयमा आफ्ना जिज्ञासा र गुनासाहरू सिधै अनलाइनमार्फत दर्ता गराउन सक्नेछन्।
दर्तावाला चिकित्सकहरूले आफ्नो व्यक्तिगत खातामार्फत र सर्वसाधारणले काउन्सिलको वेबसाइटमा गएर वा क्यूआर कोड स्क्यान गरी डिजिटल फारम भरी यस सेवाको उपभोग गर्न सक्ने काउन्सिलले जनाएको छ।
पोर्टलमा प्रयोगकर्ताहरूको गोपनीयतालाई उच्च प्राथमिकता दिँदै आफ्नो पहिचान खुलाएर वा पहिचान लुकाएर उजुरी वा सुझाव दर्ता गर्न मिल्ने व्यवस्था मिलाइएको काउन्सिलले जनाएको छ।






